शीर्ष नेताको बैठक दिउँसो १ बजे पुन बस्ने

  • पोखरा न्यूज
  • २०७३ श्रावण ६
Post Thumbnail

काठमाडौँ, ६ साउन –

व्यवस्थापिका–संसद्मा कार्यसूचीको प्राथमिकतासम्बन्धी विवाद मिलाउन सभामुख ओनसरी घर्तीले बोलाउनुभएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगन भएको छ ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले अविश्वासको प्रस्तावमा छलफल हुनुअघि बजेट आश्रित विधेयकका कार्यसूची ल्याउन आग्रह गरेपछि विवाद उत्पन्न भएको हो । विपक्षीले पहिला अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने माग गर्दै आएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा ठोस निष्कर्ष ननिस्किएपछि आन्तरिक गृहकार्य गरी १ बजे आउन सभामुखले नेताहरुलाई आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । सहमति नभएपछि आज ११ बजेका लागि तोकिएको संसद्को बैठक दिउँसो २ बजेसम्मका लागि स्थगन भएको छ ।

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको सो बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र एमाले संसदीय दलका उपनेता सुभास नेम्वाङ सहभागी हुनुहुन्थ्यो । उहाँहरुले बैठक सकिएपछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिनुभएन ।

एमालेले पूर्ववत् कार्यसूची हटाई अविश्वासको प्रस्तावलाई सभामुखले प्राथमिकता दिएकाले बजेट आश्रित विधेयकलाई प्राथमिकता नदिइए अवरोध गर्ने निर्णय गरेपछि संसद् बैठक प्रभावित भएको हो ।

नेकपा-माओवादी केन्द्र र नेपाली काँग्रेससहितका दलले सरकारविरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सो दिनको बैठकको कार्यसूचीमा रहेको बजेट आश्रित विधेयकको कार्यसूची स्थगन गरिएको थियो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस