रत्ननगर (चितवन), ७ साउन –
चितवनको भरतपुर अस्पतालमा अस्पतालजन्य फोहरबाट बायोग्यास प्लान्ट निर्माण गरिएको छ ।
कुहिने फोहरको प्रयोग गरेर हालै प्लान्ट जडान गरिएको अस्पतालले जनाएको छ । गर्भवतीलाई सुत्केरी गराउँदा निस्कने तथा अन्य कुहिने फोहरबाट अस्पतालमा बायोग्यास प्लान्ट जडान गरिएको हो ।
भरतपुर अस्पतालमा दैनिक औसत ४५ जनाले सुत्केरी सेवा लिँदै आएका छन् । बायोग्यास प्लान्टमा सुत्केरी गराउँदाका सालनाल, विभिन्न मानवजन्य अङ्ग, मासुका टुक्रा, अन्य सड्ने फोहर सबै प्लान्टभित्र राखिनेछ ।
राष्ट्रिय गोबरग्यास निर्माण तथा सेवा प्रालिले रु चार लाख ९० हजार ९९० को लागतमा अस्पतालमा गोबरग्यास प्लान्ट निर्माण गरेको छ । पच्चीस घनमिटरको प्लान्ट निर्माणका लागि रु दुई लाख ८७ हजार ५०० अनुदान प्राप्त भएको थियो ।
यो प्लान्टमा निस्किएको ग्यास अस्पतालको अपरेसन कक्षमा पानी उमाल्न तथा अन्य उपकरण निर्मलीकरण गर्नका लागि प्रयोग गरिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । अस्पतालले मासिक रु १० हजार बराबरको एलपी ग्यास अपरेसन कक्षमा पानी उमाल्न र निर्मलीकरण गर्ने प्रयोजनका लागि खर्च गर्दै आएको छ ।
“बायोग्यासबाट हाम्रो मासिक रु १५ हजार रकम एकातिर जोगिनेछ भने अर्कोतिर सड्ने फोहरको दीर्घकालीन व्यवस्थापन हुनेछ,” मेसु डा मरासिनीले भन्नुभयो, “फोहरले अस्पतालमा दुर्गन्ध फैलिन पाउने छैन भने फोहरबाट मोहर पनि कमाउन सकिन्छ ।”
पच्चीस घनमिटरको ग्यास प्लान्टका लागि प्रतिदिन डेढ क्विन्टल फोहर आवश्यकता पर्ने बायोग्यास निर्माण समितिका संयोजक ईश्वरी खनालले जानकारी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution