ठाडी खोलाको बाँध फुट्दा चालिस घर डुबानमा

  • पोखरा न्यूज
  • २०७३ श्रावण ७
ठाडी खोलाको बाँध फुट्दा चालिस घर डुबानमा

गाईघाट (उदयपुर), ७ साउन –

त्रियुगा नगरपालिका–७ मोतीगडास्थित ठाडी खोलामा आज आएको भीषण बाढीले बाँध बगाउँदा स्थानीय ठाडी टोल र प्रतिभा टोलका ४० घर डुबानमा परेका छन् ।

गए रातिदेखि आएको निरन्तर वर्षाका कारण ठाडी खोलामा बाढी आउँदा बाँध फुट्न पुगेपछि खोलाको आधा पानी स्थानीय प्रतिभा टोल र ठाडी टोलमा प्रवेश गरेको थियो ।

खोलाको पानी प्रवेश गरेर घर डुबाए पनि कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । गाउँमा खोलाको बाढी प्रवेश गरेपछि अहिले जिल्ला प्रहरी कार्यालय र स्थानीय जनताको सक्रियतामा स्काभेटर प्रयोग गरेर उक्त बाँध थुन्ने कार्य भइरहेको छ ।

त्यस्तै २४ घन्टादेखि निरन्तर वर्षा भएसँगै पूर्वको सप्तकोसी नदीमा भीषण बाढी आएर पानीको बहाब नदी किनार बाहिर आउन थालेपछि तपेश्वरी क्षेत्र उच्च जोखिममा परेको छ ।

पानीको बहाब अहिलेसम्मकै उच्च भएर नदी किनार बाहिर आउन थालेपछि तपेश्वरीको माथिल्लो क्षेत्र र तल्लो क्षेत्र भागलपुर गाउँसहित झन्डै एक हजार ५०० घरपरिवार उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरबहादुर केसीले बताउनुभयो । सप्तकोसीमा पानीको बहाब अति नै बढेका कारण आज जिल्ला प्रहरी कार्यालय तथा मौसमविद् सम्मिलित टोलीले सप्तकोसीको अनुगमन गरेको थियो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस