अरुण थापाका गीत नयाँ पुस्ताका स्वरमा

काठमाडौँ, ७ साउन –

नेपाल सांस्कृतिक संस्थानले अरुण थापाको १७औँ पुण्यतिथिको अवसर पारेर आज ‘सांस्कृतिक श्रद्धाञ्जलि सभा’ आयोजना गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शुभारम्भ द म्युजिकल जर्नीसँगको सहकार्यमा यहाँस्थित राष्ट्रिय नाचघरमा आज भएको कार्यक्रममा १० गायक÷गायिकाले थापाका करिब दर्जन गीत गाएर उहाँलाई सम्झिए । सङ्गीता शाक्यबाट सुरु भएको कार्यक्रम शैलेश सिंहले गाएको नारायण गोपालको गीत ‘ए मलाई माया गर्छु भन्ने हजुर’मा टुङ्गिएको थियो ।

सो क्रममा सङ्गीताले अरुणले गाएका ‘लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो’ लोचन भट्टराईले ‘चोट के हो व्यथा के हो’, शैलेशले ‘म रोए पनि तिमी हाँसिदिनू’, मीना पोखरेल निरौलाले ‘मेरो गीत सबै तिमीलाई’ गाउनुभयो । त्यस्तै दृष्टिविहीन उत्सव नेपालले ‘यो मन के भर हुन्छ र’ गाउँदा करिब ५०० को सङ्ख्यामा रहेका दर्शकले सम्मान व्यक्त गरेका थिए भने केहीले उहाँलाई नगद पुरस्कार समेत सहयोग गरे ।

त्यसैगरी देवेन्द्रमान सिंहले ‘भुलूँ भुलूँ लाग्यो मलाई सपनीमा’ र सरिता शाहीले ‘जति माया लाए पनि’ गाउनुभएको थियो । सुरजकुमार थापाले दर्शकको अनुरोधमा पुनः ‘जति माया लाए पनि’ गाउनुपरेको थियो भने उहाँले अर्को गीत ‘साँझको जुनसँगै आउछौँ तिमी भनेर’ पनि गाउनुभयो । साथै बेनुका राईले ‘आँखाको नीद खोसी लाने’ गीत गाउँदा पूरै कार्यक्रम नै ‘अरुण थापामय’ भएको भान हुन्थ्यो ।

कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले आफ्नो संस्थाले सर्जकको सम्झनामा हुने यस्ता कार्यक्रम जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वरिष्ठ गीतकार चेतन कार्कीले राज्यले गीत–सङ्गीत र कला क्षेत्रलाई प्रत्युत्पादक क्षेत्र मानेको दुःखेसो पोख्दै थापा जस्ता प्रतिभाको उचित कदर गर्न सबैलाई आग्रह गर्नुभयो ।

नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले थापालाई प्रेममा जीवन समर्पित गर्ने व्यक्तिको संज्ञा दिँदै उहाँले गाएका सबै गीत प्रेममा समाहित भएर गाइएको बताउनुभयो । उहाँले आगामी दिनमा परलोक भएका हरेक प्रतिभाको पुण्यतिथिका दिन यस्तै कार्यक्रम गर्ने आफूहरुको कार्यक्रम रहेको जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button