अहिले राष्ट्रिय सहमतिको खाँचो छ– नेता नेपाल

काठमाडौँ, ८ साउन –

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकमा नयाँ ढङ्गबाट अहिले राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रधानमन्त्री विरुद्ध व्यवस्थापिका–संसद्मा हिजो पेस भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा आज भाग लिँदै उहाँले भन्नुभयो –“देश डुब्न लागेको छ, देशलाई बचाउने मान्छे कोही पनि छैन, एउटा पार्टी अहिले गुटमा परिवर्तन भइरहेको छ, हामी जालझेलमा लागिरहेका छाँै, आग्रहबाट प्रेरित भएर आरोप लगाउन अब सबैले छोड्नुपर्छ ।”

नेपालको स्वाभिमान उठाउने र अन्तर्राष्टिय क्षेत्रमा मुलुकको छवि विस्तार गर्ने काममा सबै जुट्नुपर्ने आवश्यकता औल्याउँदै नेता नेपालले संविधानको रक्षा र कार्यान्वयनका लागि राजनीतिक निर्णयका आधारमा अघि बढनुपर्छ भन्नुभयो ।

नेकपा ९माओवादी० केन्द्रले हतारमा ल्याएको अविश्वासको प्रस्तावमाथि प्रमुख प्रतिपक्षले हस्ताक्षर गरेर अघि बढाउने कार्य त्रुटीपूर्ण रहेको बताउँदै उहाँले जोसुकैबाट गरिएको भए पनि राष्ट्रिय हितमा गरेका कामको मूल्याङ्कन हुन आवश्यक छ भन्नुभयो । मुलुक बनाउने, प्रणालीमा लैजाने काममा सबै बीच सहमति कायम गरेर अघि बढाउनुपर्ने आवश्यकता बताउँदै नेता नेपालले नियुक्ति, सरुवा, बढुवा, ठेक्काप्रणालीलाई विधि र प्रक्रियामा लैजान सबैबाट प्रतिवद्धता आउन जरुरी छ भन्नुभयो । एकअर्काको चिन्ता, भावना बुझनसक्ने हो भने देश र जनतालाई मिलनविन्दुमा राखेर काम गर्ने भए असम्भव केही पनि छैन, राष्ट्रिय हितलाई केन्द्रविन्दुमा रहेर काम गर्न आवश्यक छ– नेता नेपालले भन्नुभयो ।

नेकपा (माओवादी) केन्द्रका हरिबोल गजुरेलले संविधान कार्यान्वयन, मधेस आन्दोलनको सम्बोधन, सामाजिक न्याय, शान्तिप्रक्रिया र पुनःनिर्माणको बारेमा आफनो पार्टीले लिखितरुपमै चासो व्यक्त गरेकोमा त्यसलाई प्रधानमन्त्रीले बेवास्ता गरेका कारण अविश्वासको प्रस्ताव दर्ता गराउनुपरेको हो भन्नुभयो । वर्तमान सरकारमा रहेर शान्तिप्रक्रिया र जनताको भावनालार्इं सम्बोधन गर्न असम्भव देखिएको बताउँदै उहाँले कृषकलाई आवश्यकपर्ने मलखादको भण्डारण न्यून भएको विषयमा प्रधानमन्त्रीलाई भेट्ने प्रयास गर्दा बेवास्ता गर्नुभनेको स्वच्छाचारीको पराकाष्ठको हो भन्नुभयो ।

राष्टिय प्रजातन्त्र पार्टी,नेपालका सुशील श्रेष्ठले देशले अघोषित रुपमा नाकाबन्दी झेलिरहेको तथा अप्ठेरोमा परेको अवस्थामा सत्ता सम्हालेको वर्तमान सरकारको निरन्तरताको अझै खाँचो औल्याउनुभयो ।

संविधान भनेको मर्म र भावले नभइ स्पष्ट किटान गरेको प्रावधानलाई व्याख्या गर्न आवश्यक हुन्छ भन्दै वर्तमान सरकारको बहिरगमनपछि नयाँ सरकारको गठन सम्बन्धी व्यवस्था संविधानमा नरहेको उहाँले जिकिर गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button