काठमाडौँ , ८ साउन –
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नयाँ बन्ने गठबन्धन जगबिनाको गजुर भएको जिकिर गर्नुभएको छ ।
एमाले सञ्चार इलाकाको विस्तारित बैठकलाई आज यहाँ सम्बोधन गर्दै पार्टीका प्रचार विभाग प्रमुख समेत रहनुभएका भट्टराईले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर वर्तमान सरकार ढाल्ने कार्य सुरु गरे पनि आफ्नो पार्टी त्यसबाट नअत्तालिने स्पष्ट गर्नुभयो ।
उहाँले काँग्रेस र माओवादीबीचका भाषा र शैलीकै भिन्नताका कारण उनीहरुको गठबन्धन दिगो हुन नसक्ने टिप्पणी गर्दै अल्पमतमा परिसकेपछि एमाले सशक्त प्रतिपक्षमा बस्न तयार रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “एमाले लोकतान्त्रिक पार्टी हो, अविश्वासको प्रस्ताव आइसकेपछि सरकारमा रहँदैन भन्ने हामीलाई थाहा छ । नयाँ सरकार गठनका लागि संविधानको अस्पष्टताबारे हामीलाई चिन्ता छैन । त्यसमा केही समस्या भएमा राष्ट्रपति वा सर्वोच्च अदालतबाट फुकाउने काम होला । हामी कतै गुहार्न जाँदैनौँ । एमाले प्रतिपक्षी भूमिकामा ‘च्याम्पियन’ पार्टी हो । त्यही स्थानमा हामी बस्न तयार छौँ ।”
एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाल, चौतारीका पूर्वअध्यक्ष शम्भु श्रेष्ठ र राजेन्द्र अर्याल, उपत्यका पेसागत बुद्धिजीवी जिल्ला कमिटीका अध्यक्ष प्रेम पराजुलीको पनि भेलामा सहभागिता थियो । इलाका अध्यक्ष टङ्क पन्तले आगामी भदौ ४ गते इलाका अधिवेशन गरिने जानकारी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution