श्रमिकको समस्या समाधानबिना नयाँ नेपाल निर्माण नहुने – उपराष्ट्रपति पुन

काठमाडौँ, ८ साउन –

उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमिक र किसान वर्गको समस्याको समाधान नभएसम्म नयाँ नेपाल निर्माण हुन नसक्ने बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विश्व ट्रेड युनियन महासङ्घद्वारा यहाँ शनिबार श्रमिक वर्गको विश्वव्यापी समस्याबारे आयोजित दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले श्रमिकको समस्या अझै कायम रहेको बताउँदै संविधानमा रोजगारीलाई मौलिक अधिकारका रुपमा सुनिश्चितता गरिए पनि कार्यान्वयनमा समस्या देखिने गरेको बताउनुभयो ।

रोजगारीको अनिश्चितता, न्यून ज्याला, समयमा तलब नपाउनु, स्वास्थ्य बिमा नहुनु, श्रमिक वर्गको मुख्य समस्या रहेको भन्दै उहाँले आज पनि श्रमिक वर्ग सबभन्दा बढी अभाव, उत्पीडन र शोषणमा बाँच्नुपरेको बताउनुभयो ।

कार्यक्रममा नेकपा (संयुक्त) का अध्यक्ष गणेश साहले सोभियत सङ्घको विघटनपछि विश्वमा मजदुर वर्गको अधिकारको लडाइँ कमजोर बन्दै गएको भन्दै आफ्ना अधिकारका लागि मजदुर एकजुट हुनुपर्ने बताउनुभयो ।

विश्व ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य तथा गोष्ठीका संयोजक प्रेमलकुमार खनालले गोष्ठीमा विश्व साम्राज्यवादले श्रमिक वर्गलाई पारेको प्रभाव, नवउदारवादी अर्थनीतिले श्रमिक वर्गलाई पारेको प्रभाव, आप्रवासी श्रमिक वर्गले विश्वव्यापी रुपमा भोगिरहेको समस्याका बारेमा चारवटा कार्यपत्र प्रस्तुत हुने जानकारी गराउनुभयो ।

गोष्ठीमा पेसागत महासङ्घ नेपाल, नेपाल ट्रेड युनियन फेडरेसन, नेपाल प्रगतिशील ट्रेड युनियन महासङ्घ, नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ, नेपाल समावेशी ट्रेड युनियन महासङ्घ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपाल र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घका २२० जनाको सहभागिता रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button