प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव आज निर्णयार्थ प्रस्तुत हुने

  • पोखरा न्यूज
  • २०७३ श्रावण ९
प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव आज निर्णयार्थ प्रस्तुत हुने

काठमाडौँ, ९ साउन –

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव आइतबारको दोस्रो बैठकमा निर्णयार्थ प्रस्तुत हुने भएको छ ।

व्यवस्थापिका–संसदको आजकोको पहिलो बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि दोस्रो बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले उठेका प्रश्नको जवाफ दिनुहुनेछ । त्यसपछि अविश्वासका प्रस्तावका पक्षधरलाई प्रस्ताव फिर्ता लिन समय प्रदान गरिनेछ ।

अविश्वासको प्रस्तावका पक्षले प्रधानमन्त्रीविरुद्धको प्रस्ताव फिर्ता लिन नचाहेमा सभामुखले संसद्को आइतबारको दोस्रो बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले राससलाई जानकारी दिनुभयो । उक्त प्रस्तावमाथि शुक्रबारबाट सदनमा छलफल हुँदै आएको छ ।

वर्तमान गठबन्धन सरकारको ठूलो दल नेकपा ९माओवादी केन्द्र०ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओली सरकार सङ्कटमा परेको हो ।

प्रधानमन्त्री ओलीको दम्भ र अहङ्कारका कारण आफूले समर्थन फिर्ता लिएर उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको माओवादी केन्द्रले जनाउँदै आएको छ । व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितका २८१ जना सांसदको हस्ताक्षर गरेर उक्त प्रस्ताव संसद्मा पेस गरिएको थियो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपाले पनि समर्थन फिर्ता लिएर अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

नेपालको संविधान जारी भएसँगै व्यवस्थापिका–संसद्मा प्रतितिनिधित्व गर्ने अधिक राजनीतिक दलको समर्थनमा नेतृत्व सम्हाल्न पुग्नुभएका प्रधानमन्त्री ओली सरकार नौ महिनाको अवधि पार गर्दा नगर्दै सङ्कटमा पर्न गएको छ ।

प्रधानमन्त्री ओलीलाई सहमतीय राजनीतिलाई बेवास्ता गर्दै एकलौटी ढङ्गले अघि बढ्न खोजेको आरोप छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस