बाढीबाट दुई हजार घर डुबान

  • पोखरा न्यूज
  • २०७३ श्रावण ९
बाढीबाट दुई हजार घर डुबान

राजविराज, ९ साउन –

शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न खोलानालामा आएको बाढीले करिब दुई हजारभन्दा बढी घर डुबानमा परेका छन् ।

खाँडो खोलामा आएको बाढीले बस्तीमा पानी पस्दा घर डुबानमा परेको प्रहरीले जनाएको छ । सो बाढीले सकरपुरा, दिघवा, लौनिया, रम्पुरा मल्हनियाँ, देउरी भरुवा, झल्ही, फर्सैठ, बिसहरिया, तिलाठी लगायत अधिकांश गाविसको गाउँ बस्तीमा पानी पसेको बताइएको छ ।

यस्तै मोहली खोलामा आएको बाढीले पोर्ताहा, भारदह, गिद्धखोरा, बरमझिया त्रिकोल हनुमानगर कोलाडी, लगायतको गाविसका हजारौँ घर डुबानमा परेको भारदह– ६ का अशोक माझीले बताउनुुभयो ।

सो खोलाको बाढीले भारदहमा बढी क्षति पु¥याएको छ । मोहली खोलाको बाढीले हनुमानगर योगिनीमाई नगरपालिका– २ स्थित कोसी पश्चिमी नहरका बाँधले पानी थुनिएपछि भारदह वडा ५ र ६ का गाउँ पूरै डुबानमा परेको स्थानीयवासी उमेश माझीले जानकारी दिनुभयो ।

बाढी घर घरमा पसेपछि मानिसहरु डुबान क्षेत्रका विभिन्न बाँध र नहर आसपासमा बस्न बाध्य भएको बताइएको छ । त्यस्तै पोडा खोलामा आएको बाढीले ढुकुली, महदेवा, बभन्नगामा कटीसहितको गाविसका दुई सयभन्दा बढी घर डुबानमा परेको स्थानीयवासी शैलेन्द्र सिंहले जानकारी दिनुभयो । विभिन्न खोलानालामा आएको बाढीले जिल्लाको करिब ३० हजार हेक्टर खेतीयोग्य जग्गासमेत जलमग्न भएको बताइएको छ ।

त्यस्तै विभिन्न ग्रामीण भेगमा रहेका दर्जनौँ माछा पोखरीमा पानी पस्दा लाखौँ बराबरको माछा पानीसँगै बगेको हनुमानगर योगिनी माई नगरपालिका– २ का श्याम खड्काले बताउनुभयो ।

यसैबीच खाँडो खोलाबाट बाढीले बढी प्रभावित क्षेत्र सकरपुरा, रम्पुरा मल्हनियाँ र तिलाठी गाविसमा आज मुरही, चिउरा र भुजिया बाँडिने प्रजिअ बलदेव गौतमले बताउनुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस