‘नयाँ सरकारको प्रस्ट व्यवस्था छ, गलत प्रचार नगरौँ’

  • पोखरा न्यूज
  • २०७३ श्रावण ९
‘नयाँ सरकारको प्रस्ट व्यवस्था छ, गलत प्रचार नगरौँ’

काठमाडौँ, ९ साउन –

व्यवस्थापिका–संसद्मा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विश्वास छैन भनी दर्ता भएको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले संविधानसभाबाट जारी भएको संविधानको गलत व्याख्या नगर्न आग्रह गर्नुभयो ।

उहाँहरुले नेपालको संविधानको धारा २९८ ले नयाँ प्रधानमन्त्री चयनसम्बन्धी प्रस्ट व्यवस्था गरेकाले अनन्तकालसम्म कार्यकारी प्रमुख नै चयन हुन सक्दैन भन्ने दृष्टिकोणबाट सरकारमा रहेको दलका तर्फबाट प्रचार हुनु दुःखद् रहेको बताउनुभयो ।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का जितेन्द्रनारायण देवले नयाँ सरकार बन्नै सक्दैन भन्ने अतिवादी सोचबाट ग्रस्त भएर संविधानको अपव्याख्या नगर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो पार्टीले वर्तमान प्रधानमन्त्रीविरुद्ध सदनमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै शनिबार नै सरकारबाट फिर्ता भएको उल्लेख गर्नुभयो ।

राप्रपाका विक्रम पाण्डेले संविधानअनुसार नै नयाँ सरकार गठन हुने मार्गप्रशस्त रहेको छ भन्दै आफ्नो पार्टीले अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको बताउनुभयो ।

सांसद कलसादेवी महराले लोकप्रियताको शिखरमा पुगेको सरकारलाई जबर्जस्ती ढाल्न लागिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद हरिचरण साह, रामकुमार राई, कुमार खड्का, रुक्मिणी चौधरी, चन्द्रेश्वर झा र नगेन्द्र कुमालले आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायको भावनाविरुद्ध ओली सरकारले गतिविधि गरेको भन्दै आफूहरुले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताउनुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस