संवाद र सहकार्यको विकल्प नखोजौंँ, बोलीअनुसार व्यवहार गरौँ – नेता पौडेल

  • पोखरा न्यूज
  • २०७३ श्रावण ९
Post Thumbnail

काठमाडौँ, ९ साउन –

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सदनमा अविश्वासको प्रस्तावमा छलफल टुङ्गिएर चाँडै अर्को सरकार गठन भए पनि कसैले संवाद र सहकार्यको विकल्प खोज्न नहुने बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको अविश्वासको छलफलमा भाग लिँदै उहाँले वर्तमान सरकारका बारेमा अब बोलिरहन जरुरी नभएको बताउँदै संवाद र सहकार्यको विकल्प खोज्न नहुने तथा भनाइ र गराइ एउटै हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालको भू–राजनीतिक अवस्थालाई अतिरञ्जित गर्न नहुने भन्दै अबको प्रधानमन्त्री चयन पनि संसदीय प्रणालीअनुरुप हुने बताउनुभयो । सत्तामा रहँदाको देशभक्ति र सत्ताबाट बाहिरिएपछिको देशभक्ति पृथक हुन हुनुहुँदैन भन्ने उहाँको कथन थियो ।

उहाँले राष्ट्रपतिको सम्मानित पदलाई अवमूल्यन गर्न हुन नहुने भन्दै गणतन्त्रको गौरव राष्ट्रपति भएकाले उहाँका बारेमा अभिव्यक्ति दिन पनि आवश्यक नभएको बताउनुभयो । उहाँले संविधान कार्यान्वयमा सबै दल लाग्नुपर्ने र त्यसमा प्रधानमन्त्री ओलीको सकारात्मक सहयोगको अपेक्षा राष्ट्रले गरेको बताउनुभयो ।

भारत, नेपाल र चीनमा सँगसँगै आएको राजनीतिक परिवर्तनले भारत र चीनले हासिल गरेको प्रगतिबाट अब नेपालीले पनि सिक्नुपर्नेमा जोड दिँदै आमनरसंहार जस्ता अतिशयोक्तिपूर्ण अभिव्यक्ति नदिन सांसदलाई आग्रह गर्नुभयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस