पच्चीस तोला सुनसहित एक पक्राउ

कावासोती, १० साउन –

नवलपरासीस्थित इलाका प्रहरी कार्यालय नवलपुरले सवारी जाँचका क्रममा २५ तोला १२ लाल सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार काठमाडौँबाट सन्धिखर्कतर्फ गुडिरहेको लु१ख ६१४२ नंको बसमा गएराति प्रहरी कार्यालय अगाडिको चेक पोष्टमा जाँच गर्दा बसका कन्डक्टर २२ वर्षीय सञ्जय क्षेत्री पक्राउ परेका हुन् । क्षेत्री अर्घाखाँची ठाडा–३ का हुन् । क्षेत्रीलाई नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको प्रनाउ थापाले जानकारी दिनुभयो ।

बरामद भएको सुन रु १४ लाख ७१ हजार बराबरको रहेको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख केशव उप्रेतीले जानकारी दिनुभयो।

कलङ्कीमा आएका यात्रुले अर्घाखाँची पुरयाइदिने भन्दै सुन दिएको क्षेत्रीले बताएको प्रहरीले जनाएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध भन्सार ऐनअनुसार मुद्दा चलाइनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button