पोखरा , ११ साउन–
पोखराको सेती नदीमा पानीको सतह बढेपछि नदि किनारका बस्तीहरु जोखिममा परेका छन् । हिजो देखि परेको भारी वर्षाले नदिको सतह बढेर पोखरा–१० रामघाटको सुकुम्बासी बस्ती डुबानमा परेको छ ।
पोखराको रामघाटमा नदीको पानी थुनिएर ठुलो ताल बनेको छ भने वाढीका कारण सेती किनारका १५ घर डुबानमा परेका छन् । वाढीकै कारण कसेरीका दुई दर्जन बढी घर बिस्थापित भएका छन । सुकुम्बासी बस्ती सँगै तमु प्ये ल्हु संघको शक्तीघाट स्थित चिताघाट समेत डुबानमा परेको छ । कास्कीको पार्चे गाविसमा मादी नदीले दुईवटा घर र क्लिनिक बगाएको छ ।

सुकुम्बासी बस्तीमा सोमबार राति बाढी पसेपछि त्यहाँका बासिन्दालाई रातिनै सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले पोखरान्युजडटकम लाइ बताउनुभयो ।

कास्कीको हेम्जामा बालुवा निकाल्ने क्रममा एक महिलालाई सेती नदीले बगाएर बेपत्ता बनाएको छ भने दर्जनौ घर डुबानमा परेका छन् । सोमबार साँझ हेम्जामा बस्दै आएकी म्याग्दीकी ४० वर्षीया मोतीकला छन्त्याललाई सेती नदीले बगाएको र उनको खोजीकार्य भइरहेको बज्राचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी पोखराको छोरेपाटनमा पनि केहि घर डुबानमा परेका छन् । दामोदर (खहरे) खोलामा आएको पानीले निकास नपाएपछी सो ठाउका घरहरु डुबानमा परेका हुन् । खोलाको पानी जाने ठाउँ पुरेर प्लटिङ गरि घर तथा घडेरी बनाइएपछी उक्त बस्ती डुबानमा परेको हो । छोरेपाटनकै पर्यटकीय स्थल डेभिस फल ( पातले छाँगो ) मा पानीको सतह बढेपछी पर्यटक तथा सर्बसाधारण सबैलाइ भित्र जान रोक लगाइएको छ । भारी बर्षा पछी पोखराको फेवातालमा पनि पानीको सतह निकै बढेको छ।

बाढीका कारण कास्कीको भदौरे तामागीको ठुलाखेत खहरे खोलाको पुल बगाएको छ ।





