बाढीका कारण पाँचको मृत्यु

सुरुङ्गा (झापा), ११ साउन –

शनिबारदेखि लगातार परेको वर्षाका कारण झापामा आजसम्म पाँच जनाको मृत्यु भएको छ भने एक घाइते र एक बेपत्ता भएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा गरामनी–२ डाँडागाउँ निवासी ३४ वर्षीय लुखीराम सोरेन, तोपगाछी–८ क्याम्पा बजार निवासी विशाल भुजेलका दुई वर्षीय छोरा मनिष, धुलाबारी घर भई गौरादह बस्दै आएका अनुज न्यौपाने, गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३५ वर्षीय टेकेन्द्र खड्का छन् ।

त्यस्तै गौरीगन्ज–५ का ११ वर्षीय दीिपेश गिरी घाइते भएका छन् । घर नजिकैको खोला हेर्न गएका उनी खोला बढेर आएपछि भाग्ने क्रममा कल्भर्टबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ ।

उता माईखोलामा आएको बाढीले बगाएर भारत घर भई हाल कुमरखोद–४ बस्दै आएका १८ वर्षीय कालु भनिने बाबुलाल मण्डीलाई बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताउनुभयो ।

लगातार आएको वर्षाका कारण जिल्लाका दुई हजार २८३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापामा अझै पनि ६६९ घर डुबानमा रहेको बताइएको छ ।

बाढीका कारण अधिकांश ठाउँ प्रभावित भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले सबैलाई सचेत रहन आग्रह गरेको छ । प्रभावित भएका स्थानमा जोखिममा परेका जनसमुदायलाई तत्काल राहत उद्धारमा लाग्न सबै पक्षलाई आग्रह गरिएको प्रजिअ मदन भुजेलले बताउनुभयो । आज मात्रै भुजेलको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी सबैलाई सुरक्षित स्थानमा राख्न र प्रभावितलाई खाना, पानी र स्वास्थ्यसम्बन्धी हेरचाह गर्न कुनै कसर बाँकी नराख्ने निर्णय गरिएको छ ।

आज पनि झापामा बिहानैदेखि वर्षा भइरहेको छ । मेची, निन्दा, विरिङ, कनकाई, रतुवा लगायत नदीमा पानीको सतह उच्च रहेकाले सचेत रहन सबैलाई आग्रह गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो । मैनाचुलीमा रहेको कनकाई जल मापन केन्द्रका अनुसार झापामा पछिल्लो २४ घन्टाभित्र ५८।२ मिमी वर्षा भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button