सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च

इनरुवा, ११ साउन –

पूर्वी क्षेत्रमा एक हप्तादेखि जारी रहेको अविरल वर्षाका कारण आज सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव मापन गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कोसी ब्यारेजमा आज १२ः१५ मा गरिएको पानीको मापनअनुसार कोसी ब्यारेज भएर दुई लाख ८५ हजार २२३ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको कोसी ब्यारेज कन्ट्रोल रुमका भारतीय अधिकारीले जनाएको छ ।

कोसी ब्यारेजमा दुई लाख ४२ हजार पानीको बहाव रहेकामा मध्याह्न १२ः १५ बजे गरिएको मापनअनुसार दुई लाख ८५ हजार २२३ क्युसेक पानीको बहाव रहेको छ । कोसीमा अहिले ३५ वटा ढोका खोलिएका छन् । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा हुँदा सप्तकोसी नदीकोे बहावमा वृद्धि हुने गर्दछ ।

उता लगातारको वर्षाका कारण सुनसरी खोलामा आएको बाढीले सुनसरीका दक्षिणवर्ती अधिकांश गाविस डुबानमा परेको छ । इनरुवा नगरपालिकाको ५ नम्बर वडाका २५ घर डुबानमा परेको छ । बाढीको फरक प्रसङ्गमा सुनसरीको दुईवटा पुल बगाउने खतरा बढेको छ ।

जिल्लाको रामनगरभुटाहा र हरिनगराको पुल तीन दिनअगाडि बाढीले बगाएको छ भने सुनसरी खोलाको बाढीले डुम्राहा र भोक्राहा जोड्ने झोलुङ्गेपुल बगाउने खतरा रहेको सुनसरीका प्रहरीले जनाएको छ । डुम्राहा र भोक्राहाको पुललाई जोगाउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले प्रयास गरिरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । ढुङ्गा, तारजाली र बोरामा माटो हालेर जोखिम कम गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

सप्तकोसी नदीको स्परहरु संरक्षण गर्नसमेत भारतीय प्राविधिक तथा कामदारले दुई दिनदेखि लगातार रुपमा काम गरिरहेको बताइएको छ । प्रकाशपुर र महेन्द्रनगर क्षेत्रमा काम निरन्तर रुपमा जारी रहेको उनीहरुलाई उद्धृद गर्दै स्थानीय पत्रकार बाबुराम कार्कीले जानकारी दिनुभयो । कोसीमा पानी बढेसँगै भारतको वीरपुर, भीमनगर, बसन्पट्टी लगायतका ठाउँ समेत जलमग्न भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button