इनरुवा, ११ साउन –
पूर्वी क्षेत्रमा एक हप्तादेखि जारी रहेको अविरल वर्षाका कारण आज सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव मापन गरिएको छ ।
कोसी ब्यारेजमा आज १२ः१५ मा गरिएको पानीको मापनअनुसार कोसी ब्यारेज भएर दुई लाख ८५ हजार २२३ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको कोसी ब्यारेज कन्ट्रोल रुमका भारतीय अधिकारीले जनाएको छ ।
कोसी ब्यारेजमा दुई लाख ४२ हजार पानीको बहाव रहेकामा मध्याह्न १२ः १५ बजे गरिएको मापनअनुसार दुई लाख ८५ हजार २२३ क्युसेक पानीको बहाव रहेको छ । कोसीमा अहिले ३५ वटा ढोका खोलिएका छन् । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा हुँदा सप्तकोसी नदीकोे बहावमा वृद्धि हुने गर्दछ ।
उता लगातारको वर्षाका कारण सुनसरी खोलामा आएको बाढीले सुनसरीका दक्षिणवर्ती अधिकांश गाविस डुबानमा परेको छ । इनरुवा नगरपालिकाको ५ नम्बर वडाका २५ घर डुबानमा परेको छ । बाढीको फरक प्रसङ्गमा सुनसरीको दुईवटा पुल बगाउने खतरा बढेको छ ।
जिल्लाको रामनगरभुटाहा र हरिनगराको पुल तीन दिनअगाडि बाढीले बगाएको छ भने सुनसरी खोलाको बाढीले डुम्राहा र भोक्राहा जोड्ने झोलुङ्गेपुल बगाउने खतरा रहेको सुनसरीका प्रहरीले जनाएको छ । डुम्राहा र भोक्राहाको पुललाई जोगाउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले प्रयास गरिरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । ढुङ्गा, तारजाली र बोरामा माटो हालेर जोखिम कम गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
सप्तकोसी नदीको स्परहरु संरक्षण गर्नसमेत भारतीय प्राविधिक तथा कामदारले दुई दिनदेखि लगातार रुपमा काम गरिरहेको बताइएको छ । प्रकाशपुर र महेन्द्रनगर क्षेत्रमा काम निरन्तर रुपमा जारी रहेको उनीहरुलाई उद्धृद गर्दै स्थानीय पत्रकार बाबुराम कार्कीले जानकारी दिनुभयो । कोसीमा पानी बढेसँगै भारतको वीरपुर, भीमनगर, बसन्पट्टी लगायतका ठाउँ समेत जलमग्न भएका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution