नवलपरासी, ११ साउन –
नवलपरासीस्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि यतिबेला गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।
नारायणी नदीमा पानीको बहाब बढ्दै गएपछि गण्डक बाँध नै फुट्ने खतरा बढेका कारण सो पानी भारततर्फ बगाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार नारायणी नदीमा पानीको बहाबले खतराको बिन्दुसमेत नाघेपछि उच्च सतकर्ता अपनाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।
नारायणी नदीमा गरिएको पछिल्लो पानी मापनअनुसार ९ दशमलब ४१ मिटर रहेको देबघाटस्थित जल मापन केन्द्रलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । ८ दशमलब ४ मिटर हुँदा नारायणी नदी क्षेत्रमा पूर्णरुपमा खतराको सङ्केत हुन्छ ।
नदीमा पानीको बहाव बढ्दै जाँदा जल मापन प्रविधिमा समेत प्राविधिक समस्या आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गण्डक ब्यारेजको सबै ढोका खोलिए पनि नदीमा पानीको बहाव निकै रहेकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गदै नदी किनार आसपासका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचित गरेको छ ।
अहिले यस क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले नदी किनार आसपासमा साइरन बजाई स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको बताउनुभयो ।
नारायणी नदीमा आएको बाढीले नवलपरासीको दक्षिण भेगका नर्सही, कुडिया, पक्लिहवा, गुठी प्रसौनी, प्रतापपुर, गुठी सूर्यपुरालगायतका १३ गाविस बाढीको उच्च जोखिममा रहेका छन् ।
नवलपरासीको त्रिवेणीमा भारतीय पक्षले बाँधेको बाँधका कारण पानीको सतह खतराको सङ्केतभन्दा माथि पुगेको हो । पहाडी जिल्लामा तीन दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण गण्डकी–नारायणी नदीमा पानीको बहाव उच्च भएको हो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution