सल्यान, १२ साउन –
अविरल वर्षा भएसँगै सल्यानमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।
भाइरल ज्वरो र पखालासँगै टाउको दुख्ने, रुघाखोकी लाग्नेलगायत समस्याबाट बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेपछि जिल्लामा रहेका स्वास्थ्य संस्थामा भीड लाग्न थालेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा मनिषा रावलले जानकारी दिनुभयो ।
“सामान्य अवस्थामा ३० देखि ४० जनासम्म बिरामी आउने गर्थे, अहिले दिनहुँ ८० देखि १०० जनासम्म बिरामी जाँचका लागि आउँछन्”, प्रमुख डा रावलले भन्नुभयो ।
बिरामीको सङ्ख्या बढेपछि जिल्ला अस्पतालमा उपचारमा समस्या भएको रावलको भनाइ छ । “अस्पतालको क्षमता १५ शय्याको मात्र छ तर बिरामी बढेकाले थप ३२ शय्या थप गरेर उपचारको व्यवस्था मिलाएका छौँ”, रावलले भन्नुभयो । अस्पतालमा आउने बिरामीमध्ये ४० प्रतिशत भाइरल ज्वरो र पखालाका बिरामी आउने गरेको जिल्ला अस्पताल सल्यानका डा नजिर खानले बताउनुभयो ।
उहाँले भन्नुभयो, “एउटालाई घर पठाए पनि अर्को आउने गरेकाले शय्या खाली हुन नपाउँदै अर्को थपिने हुँदा कुरुवा बस्ने ठाउँमा समेत श्यया राखेर बिरामीको उपचार गर्दै आएका छौँ ।”
भाइरल ज्वरो र पखालाबाट धेरैले दुःख पाएपनि मानवीय क्षति भने नभएको डा खानको भनाइ छ । यसले रोगसँग लड्नसक्ने शक्ति कम गर्ने भएकाले पानी तथा झोलिलो पदार्थ बढी खानुपर्ने उहाँको सल्लाह छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution