ग्रान्डी अस्पतालमा बाङ्गो ढाडको सफल उपचार

काठमाडौँ, ११ साउन –

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बाङ्गो ढाडको सफल उपचार गरिएको छ । काभ्रे जिल्लाकी आठ वर्षीया निमा लामाको बाङ्गो ढाडको सफल उपचार गरिएको हो । यस्तो उपचार नेपालमै पहिलो भएको अस्पतालले दाबी गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका स्पाइन सर्भिसेजका निर्देशक डा विनोद बिजुक्छेको टोलीले निमाको ढाडको बाङ्गोपना जन्मसँगै सुरु भएको बताउनुभयो ।

यसलाई चिकित्सकीय भाषामा अर्ली अनसेट स्कोलियोसिस भनिने उहाँले बताउनुभयो । पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा ढाड बाङ्गिने समस्या देखिएमा त्यसलाई अर्ली अनसेट स्कोलियोसिस भनिन्छ ।

निमामा यो समस्याले उनको फोक्सोको विकासमा असर पुरयाउने खतरा निम्त्याएको थियो । बढ्दो उमेरसँगै ढाड बाङ्गिने क्रम बढेर मुटु र फोक्सो थिचिने र त्यसले उनको जीवनको अवधि कम गर्ने र मृत्यु हुने खतरा रहेको समेत डा बिजुक्छेको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘यस समस्याको उपचारमा विशेषगरी ढाडलाई थप बाङ्गो हुनबाट बचाउनुपर्ने हो । बच्चाको उचाइ बढ्दै जाने भएकाले त्यसलाई पनि समायोजन गर्दै लैजानुपर्ने हुन्छ । यससँगै फोक्सो बस्ने घरलाई पनि फराकिलो बनाउनुपर्ने हुन्छ जसले गर्दा फोक्सोले बढ्ने ठाउँ पाउँछ, सबैभन्दा प्रमुख कुरा उनको जीवन सहज बनाउनु हो ।’’

निमाको उपचारमा डा विनोद बिजुक्छेसँगै डा जावेद अहमद खान र डा प्रशान्त अधिकारीको संलग्नता रहेको थियो भने एनेस्थेसियामा डा मुरारीराज उप्रेती र डा अर्चन अधिकारी संलग्न हुनुहुन्थ्यो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button