वर्षा र नाराजुलुस गर्दा उपत्यकामा ट्राफिक जाम

काठमाडौँ, १७ साउन –

वर्षा र सडकमा नाराजुलुसका कारण काठमाडौँ उपत्यकाका मुख्य सडकमा ट्राफिक जाम हुने गरेको छ ।

काठमाडौँ उपत्यकामा धेरै सवारीसाधन र सडक साँघुरो हुँदा धेरै जाम पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक मिलन बस्नेत बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “काठमाडौँ उपत्यकामा आठ लाख ५० हजारभन्दा बढी सवारीसाधन रहेको र एक हजार ५०० किलोमिटर सडक भएकाले धेरै जाम पर्ने गरेको हो ।”

काठमाडौँ उपत्यकाको त्रिपुरेश्वर, कालीमाटी, भोटेबहाल, थापाथली, माइतीघर, कलङ्की, जमल, केशरमहल, खानीविभाग, स्रोहखुट्टे, बालाजु, चाबहिल, ग्वार्को, कोटेश्वर, जडीबुटीलगायतका चोकमा धेरै ट्राफिक जाम हुने गरेको बस्नेतले बताउनुभयो । उहाँले यी चोकमा एउटा सवारीसाधनले कम्तीमा पाँचदेखि सात मिनेट रोकिनुपर्ने बताउनुभयो । “अफिस समयमा अझ बढी जाम हुने गरेको छ”– बस्नेतले भन्नुभयो ।

सडक निर्माण र जथाभावी सवारीसाधन रोक्दा धेरै जाम हुने गरेको महाशाखाले जनाएको छ । यस्तै सवारीसाधन धेरै, काम परेर रोक्नु परयो भने पार्किङको समस्याले सडकमै पार्किङ गर्दा अझै जाम हुने गरेको छ ।

यस्तै वर्षाका समयमा उपत्यकाका अधिकांश सडकमा पानी जम्ने हुनाले अझ धेरै जाम हुने गरेको छ । तिनकुने, त्रिपुरेश्वर, जमल, केशरमहललगायतका चोकमा पानी निकास गर्ने स्थान नहुँदा सानो पानी पर्दा समेत पोखरी हुने गरेको छ । यस्तै नयाँबानेश्वर चोकमा आकासे पुल नहुँदा मानिसले सडकबाटै बाटो काट्दासमेत जाम हुने गरेको महाशाखाले जनाएको छ ।

यसरी उपत्यकामा दिनानुदिन जाम बढ्दै गए पनि यसलाई न्यूनीकरण कसरी गर्ने भन्नेमा ट्राफिक प्रहरी अन्योलमा छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक बस्नेत सडक जाम कम गर्न पूर्वाधार निर्माणका लागि सडक विभाग र नगरपालिकासँग छलफल चलाइरहेको बताउनुहुन्छ ।

उपत्यकामा ट्राफिक जनशक्ति कम र विशिष्ट व्यक्तिको आवागमन हुँदा सवारी जाममा थप समस्या पर्ने गरेको छ । उपत्यकामा दुई हजारभन्दा बढी ट्राफिक जनशक्ति हुनुपर्नेमा हाल एक हजार २०० जनशक्ति रहेको छ । यस्तै नारा जुलुस निस्कँदा त सवारीसाधन झन अस्तव्यस्त हुने गरेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button