रम्भ्याङ गाउँ पहिरोको जोखिममा

इलाम, १८ साउन –

अविरल वर्षाका कारण पूर्वी इलामको जिर्मले–५ को रम्भ्याङ गाउँ पहिरोको जोखिममा परेको छ ।

एकवर्ष अघि पनि सोही ठाउँमा भीषण वर्षाका कारण पहिरो गएको थियो । यसपालिको वर्षाले पनि सोही गाउँमा पहिरो जाँदा छ घर उच्च जोखिममा परेका छन् भने अन्य ठाउँमा धाँजा फाटेको छ ।

जिर्मलेको तल्लो क्षेत्रमा रहेको सिद्धि खोलासँगै जोडिएर करिब एक किलोमिटर जति लामो पहिरो गई अमृत राई, टीकाबहादुर राई, केशर सापकोटालगायतको घर नजिकै आइपुगेका कारण ती घर पहिरोको उच्च जोखिममा छन् ।

त्यहाँबाट ५० मिटरको दूरीमा पर्ने विक्रम राई, गङ्गाबहादुर राई र भुपेन राईको घर पनि जोखिममा छन् । पहिरोले हालसम्म करिब २०० रोपनी बारी बगाइसकेको छ ।

पहिरोले बुद्धिमान राई, सुरेश राई, गुमान सिंह राईको अलैँची र अम्लिसोबारी र धानखेत पूर्णरूपले बगाएको छ भने डिल्लीबहादुर राईको अलैँची बारी र ठूलो खेत समेत फुटेर धाँजा परेको कारण जोखिममा रहेको स्थानीय डिल्लीबहादुर राईले जानकारी गराउनुभयो ।

पहिरोको बीचमा ठूलो पानी उम्रिएको र अहिले पनि पहिरोमा लेदो बगिरहेका कारण रातभर जाग्राम बस्नुपर्ने परिस्थिति सिर्जना भएको राईले बताउनुभयो । पहिरोको करिब ५०० मिटर माथि आले गाउँसम्म धाँजा फाटेका कारण सिङ्गो गाउँनै असुरक्षित बनेको छ । “छिमेकीले घर सर्ने सल्लाह दिने गरेका छन् तर सबै कुरा छाडेर कहाँ र कसरी जानु”, स्थानीय अमृत राई बताउँछन् ।

पहिरोको जोखिमको कारण नजिकै रहेको ठूलो खेतमा समेत रोपाइँ गर्न नसकिने अवस्था आएको स्थानीय सुरेन राईको भनाइ छ । धाँजा परेको भाग बगेर जाने हो भने जिर्मले–५ को सिङ्गो गाउँनै सखाप हुने सम्भावना रहेको स्थानीयको भनाइ छ ।

पहिरोले गाउँनै जोखिममा परेपनि जिल्लाबाट सुरक्षा निकायको टोली नपुगेको स्थानीयको गुनासो छ । पहिरोले हालसम्म करिब ३० मन उत्पादन हुने जति अलैँची बगान तथा अम्लिसो बारी बगाइसकेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button