पहिरोको पूर्वसूचना दिने यन्त्र जडान

गोरखा, २० साउन –

गाउँको तल र माथि दुवैतिरबाट पहिरो आएपछि जोखिममा रहेको उत्तरी गोरखाको केरौँजा गाविसमा पहिरोको पूर्वसूचना दिने यन्त्र जडान गरिएको छ ।

हालै गएको पहिरोमा परी तीनजनाको मृत्यु भएपछि पहिरोबाट थप मानवीय तथा भौतिक क्षति नहोस् भन्नका लागि सूचना दिने यन्त्र (साइरन) जडान गरिएको केरौँजा माविका शिक्षक सञ्जय ढकालले जानकारी दिनुभयो ।

नुवाकोट जिल्लाको मदानपुर गाविसका युवा वैज्ञानिक दाजुभाइ राम र लक्ष्मण रिमालले निर्माण गर्नुभएको प्रविधि ९साइरन० महावीर पुनको आग्रहमा केरौँजाको मुख्य बस्तीमा जडान गरिएको हो । गाउँमा सो प्रविधि जडान गरेपछि ४२५ टहरोमा बस्दै आएका भूकम्पपीडित खुसी भएका छन् ।

पहिरो जानसक्ने जोखिमयुक्त ठाउँमा जमिनको भित्री सूक्ष्म कम्पन थाहा पाउने सेन्सर राखिएको र जमिनमा कम्पन हुने बित्तिकै गाउँमा राखिएको तारले जोडिएको साइरन बज्ने व्यवस्था मिलाइएको छ । यो यन्त्रले पहिरो जानु २४ घन्टापूर्व नै जानकारी दिने बताइएको छ । सो यन्त्र (साइरन) टेक्नोलोजी सेल्स प्रालिले निर्माण गरेको हो ।

पहिरोको उच्च जोखिममा केरौँजा रहेको सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रकाशित भएपछि साइरन राखिएको हो । म्यागासेसे पुरस्कार विजेता पुनको राष्ट्रिय आविष्कार केन्द्रले साइरन राख्न आग्रह गरेपछि केरौँजा पुगेर मङ्गलबार साइरन जोडिएको लक्ष्मणले बताउनुभयो ।

साइरन जडानका लागि करिब रु दुई लाख खर्च भएको छ । पहिरोलगायत अन्य प्राकृतिक प्रकोपका बेला गाउँलेलाई सुरक्षित ठाउँमा सार्न साइरन बजाउन मिल्ने भएकाले गण्यमान्य चारजनालाई रिमोट कन्ट्रोल दिइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button