पोखरा, २६ साउन –
फेवातालमा सोमबार अपरान्हः डुङ्गा पल्टिदा बेपत्ता भएका २ जना युवा हालसम्म पनि भेटिएका छैनन् । सोमबार, मंगलबार र आज बुधबार विहानैदेखी उनीहरुको खोजीको लागि सशस्त्र प्रहरी वलको दक्ष गोताखोर, नेपाल प्रहरीको रेस्क्यु टिम, माझीको टोली तथा स्थानिय समेतको सङ्गलनतामा खोजि कार्य भइरहेको भएतापनि यो समाचार तयार पार्दा सम्म उनीहरुलाई भेटन नसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं चक्रपथका १९ बर्षिय प्रतिक श्रेष्ठ र बसुन्धराका २३ बर्षिय एलिन केसी हालसम्म पनि फेला पर्न सकेका छैनन । डुङ्गा पल्टिएको ठाउँलाई केन्द्रमा राखेर नजिकका क्षेत्र तथा तालको तल्लो क्षेत्रमा विभिन्न ढंगले खोजी कार्य जारी राखे पनि हालसम्म कुनै पत्ता लगाउन नसकिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्रचार्यले पोखरान्युजडटकम लाई बताए ।

रेस्क्युमा खटिएका टोलीका अनुसार बुधबार दिनभर पनि बेपत्ता भएका युवा नभेटिएपछी खोजीका लागी नयाँ नयाँ विधि अबलम्बन गरिदैछ । खोजि कार्यलाई थप प्रभाबकारी बनाउन भन्दै आज २० – २५ मिटरका फलामे हुक, फलामे काडेतारको जाली आदि निर्माण गरिएको छ ।आज साझ पर्न लागिसकेकाले भोलि बिहानै देखि उक्त हुक र फलामे काडेबारको जालीको सहाएताले खोजि कार्यलाई अगाडि बढाईनेछ ।

आज पनि दिनभर दक्ष गोताखोरहरुले पानीभित्र खोजेका थिए भने नेपाल प्रहरीको रेस्क्यु टिम, माझीको टोली तथा स्थानियले बिभिन्न डुंगाको सहाएता बाट खोजि कार्यलाइ जारी राखेका थिए । बेपत्ता युवाका आफन्तहरु हिजै देखि तालको छेउमा आइ भेटिने आसमा प्रतिक्षा गरिरहेका छन् ।
बेपत्ता भएका प्रतिक केही दिनअघि जापानबाट नेपाल आएका हुन् भने एलिन पनि केही दिनअघी मात्र अस्ट्रेलियाबाट आएको बताईन्छ । क्षेमता भन्दा बढी ८ जना सवार भएको डुङ्गा पल्टिदा अन्य ६ जनाको भने सकुशल उद्धार गरिएको थियो । उद्धार गरिएका मध्ये पाँच जनाको गण्डकी मेडिकल कलेजमा उपचार गरिएको छ भने एक जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार गरिएको प्रहरी प्रवक्ता बज्रचार्यले जनाए । तालपारीबाट वराहीघाटतर्फ फर्कने क्रममा तिव्र गतिमा हावा चल्दा डुङ्गामा पानी पसेर डुङ्गा पल्टिएको डुङ्गामा सवार घाईते सौगात श्रेष्ठले पोखरान्युजडटकम लाई बताएका छन् । सामान्यता ६ जना मात्र चढ्न मिल्ने डुङ्गामा ८ जना सवार हुँदा डुङ्गा अनियन्त्रित भएको हुनसक्ने पनि आशंका गरिएको छ ।
डुङ्गामा सवार यात्रुले लाइफ ज्याकेट नलगाउँदा उक्त दुर्घटनामा परी २ जना बेपत्ता हुनु परेको डुंगा व्यावसायीहरु बताउछन । ७ जनाको टोली काठमाडौंबाट घुम्नका लागि एक निजी गाडीमा पोखरा आएका थिए । डुंगाको क्षमता भन्दा बढी यात्रु वोकेका कारण तथा लाईफ ज्याकेट विना डुंगा सयर गरेका हुनाले उक्त डुंगा तालमा पल्टन पुग्दा दुर्घटनामा परेको हुन सक्ने फेवा डुंगा व्याबसायी संगठनका अध्यक्ष बुद्धि बहादुर नेपालीले आशंका गरेका छन। उनले पोखरान्युजडटकम संग भने “हामीले पटक पटक सवै डुंगा चालकहरुलाई यात्रु वोक्दा र डुंगा संचालन गर्दा अनिवार्य रुपमा लाईफ ज्याकेट लगाउन निर्देशन दिदै आएका छौं तर सोमबार ताल पारीको लेक हाउसबाट असावधानिका कारणले गर्दा डुंगा पल्टन पुगेको हुन सक्छ । ” प्रसासनले यस अघि देखि नै फेवाताल र वेगनासतालमा डुंगा संचालन गर्दा यात्रुलाई अनिवार्य रुपमा लाईफ ज्याकेट लगाउन अनिवार्य गरे पनि कहिले कांहि यसरी लाईफ ज्याकेट अनिवार्य रुपमा लगाउने व्याबस्था नगर्दा विभिन्न व्यक्तिहरु फेवातालमा बेपत्ता हुने तथा ज्यानसम्म जाने गरेको छ ।





