निषेधित क्षेत्रमा सत्र हजार विदेशी पर्यटक

काठमाडौँ, ३ भदौ –

सरकारले देशका विभिन्न क्षेत्रलाई सिमाना तोकी निषेधित क्षेत्र कायम गरेकामा ती क्षेत्रमा अध्यागमन विभागबाट अनुमति लिएर गत आर्थिक वर्ष २०७२-७३ मा १७ हजार ३७० विदेशी पर्यटकले पदयात्रा गरेका छन् ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी वन्यजन्तु तथा प्राकृतिक स्रोत साधनको संरक्षणका लागि र तिब्बतसँग सीमा जोडिएका कतिपय संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र तोक्ने गरेको छ । त्यस्ता क्षेत्रमा जथाभावी पर्यटक प्रवेश निषेध र निगरानीका गर्न अनुमतिपत्रको व्यवस्था गरिएको हो ।

दर्ता भएका ४५० भन्दा बढी एजेन्सीमार्फत अध्यागमन विभाग, काठमाडौँ र पोखरा कार्यालयले ती क्षेत्रमा पदयात्रा अनुमतिपत्र जारी गर्ने गरेको विभागका महानिर्देशक केदार न्यौपानले जानकारी दिनुभयो । निषेधित क्षेत्रबाट पदयात्रा गर्ने विदेशी पर्यटकबाट राजस्वबापत आव २०७२-७३ मा रु २८ करोड, ९१ लाख ९० हजार प्राप्त भएको छ ।

निषेधित क्षेत्र तोकिएको हुम्लाको सिमिकोटमा सबैभन्दा बढी आठ हजार ९५ जना, मुस्ताङमा तीन हजार ४११, मनास्लुमा दुई हजार १६७, तल्लो डोल्पामा ८८०, मनाङ्को नार फुमा ७९८, कञ्चनजङ्घामा ७२२, सुम उपत्यकामा ६१४, माथिल्लो डोल्पामा ४१९, सङ्खुवासभामा ६४, मुगुमा ४९, दोलखामा १४ र अन्य क्षेत्रमा १३७ जना रहेका छन् ।

सिमिकोटहुँदै भारतीय नागरिक तिब्बतको मानसरोबर पुग्ने भएकोले सिमिकोट जानेहरुको सङ्ख्या बढी रहेको विभागका महानिर्देशक न्यौपानको भनाइ छ । निषेधित क्षेत्रमा पदयात्रामा जानेमा सबैभन्दा बढी भारतका सात हजार ५०५, फ्रान्सका एक हजार ७१८, जर्मनीका एक हजार ५४४, अमेरिकाका एक हजार ४५२, अस्ट्रेलियाका ९८४, बेलायतका ९०६, स्विजरल्यान्डका ८९१, नेदरल्यान्डका ५९३, क्यानडाका ३५९, चेक रिपब्लिकका ३४८, इटलीका ३३६, स्पेनका ३२९ र जापानका ३०५ जना रहेका छन् ।

यस्तै बेल्जियमका २७४, रुसका २४४, दक्षिण कोरियाका १३७, न्युजिल्यान्डका १२९, युक्रेनका १०८, पोल्यान्डका ९५ र चीनका ८९ जना रहेका छन् ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button