पोउवा संघ अध्यक्ष प्रत्यासी हिरा भट्टराईको घोषणा-पत्र सार्वजनिक

पोखरा, ०७ भाद्र –

पोखरा उद्योग बाणिज्य संघको ३१ औं अधिवेशनमा अध्यक्ष पदका लागि आफ्नों नाम घोषणा गरिसकेकि हिरा भट्टराईले आफ्नों चुनावी घोषणा–पत्र पनि सार्वजनिक गरेकि छन् । विभिन्न १६ बुँदा रहेको घोषणा पत्रमा पोखराको पूर्वाधार विकास, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा गर्न सकिने सम्भावनाहरु समेटिएका छन् ।

प्रदेश नम्बर ४ को सम्भावित राजधानी पोखरामा फराकिलो सडक, व्यवस्थित बसपार्क, नियन्त्रित बस्ती विकास, भूउपयोग नीति कार्यान्वयनमा स्थानीय निकायले चासो दिनु जरुरी रहेको उनको घोषणा पत्रमा उल्लेख गरिएको छ । वृहत्तर चक्रपथ, अन्तर्राष्ट्रियस्तरको सभाहल, शिलान्यास भइसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यो क्षेत्रको समृद्धिद्वार भएकाले यि पूर्वाधार विकासका लागि हरदम प्रयासमा जुट्ने उनले प्रतिवद्धता जाहेर गरेकि छन् । भौतिक पूर्वाधार विकासतर्फ उनले पोखरालाई पूर्व–पश्चिम, मध्य–पहाडी, उत्तरी र दक्षिणी सिमानासँग सडक संजालसँग जोड्नका लागि यथेष्ट प्रयास गरिने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।

यस्तो छ भट्टराईको घोषणा पत्र :-

hira bhattarai 2

पोखरा उद्योग बाणिज्य संघको विषयमा वस्तुगत संघलाई क्रियाशील बनाउने, महिला उद्यमशीलताको लागि साझेदार संस्था पहिचान गरी स्वरोजगारमूलक तालिम सञ्चालन, उद्योगी व्यवसायी र मजदुरबीच सम्बन्ध सुधार, करदाता शिक्षाका लागि आन्तरिक राजस्व कार्यालय र पोखरा उप–महानगरपालिकासँग सहकार्य गरिने उनीद्वारा जारी घोषणा पत्रमा जनाएको छ । बढ्दो लोडसेडिङ कम गर्न सौर्यऊर्जाको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य गरिने, पोखरालाई प्रदूषणमुक्त सहर बनाउन मास भेहिकल प्रणाली अवलम्बन गर्ने तथा पार्किङ, फूटपाथ व्यवस्थापनका लागि पहल गर्नेकुरा पनि भट्टराईको घोषणा–पत्रले समेटेको छ ।

पोखराको पर्यटन प्रवद्र्धन तथा विकासका लागि पर्यटकीय गन्तब्यको सौन्दर्यीकरण, नयाँ गन्तब्य खोजी, साहसिक खेलको प्रचारप्रसार र अन्नपूर्ण क्षेत्रमा म्याराथन आयोजना गर्न पर्यटन सम्वद्ध संस्थासँग सहकार्य गरिने जनाइएको छ । चोरी नियन्त्रण गर्न सहरी क्षेत्रमा सिसी क्यामेरा जडान र वस्तुगत संघसँगको सहकार्यमा निजीस्तरबाट रात्रीकालीन सुरक्षा व्यवस्था गरिने पनि १६ बुंदे घोषणा पत्रमा उल्लेख गरिएको छ ।

पोखरा उप–महानगरपालिकामा गाभिएका थप वडामा व्यवसाय र सदस्यता विस्तार गरिनेछ र विकासको लागि लबिङ गरिने, पोखराको पार्किङ तथा बस स्टपलाई व्यवस्थित गर्न र सहरीक्षेत्रमा शौचालय निर्माणका लागि नगरपालिकासँग सहकार्य गरिने,पोखरा र पोखरा आसपासका क्षेत्रमा कृषिको प्रसस्त सम्भावना रहेकाले ‘कृषिका लागि विशेष आर्थिक क्षेत्र अभियान’ लाई निरन्तरता दिँदै उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारमा ध्यान दिइनेछ । साथै कृषि पर्यटनको सम्भावना खोजी गरी विकासको लागि पहल गरिने, बन्द–हड्ताललाई निरुत्साहित पार्न राजनीतिक दल, नागरिक समाज, युवा तथा विद्यार्थी संगठन लगायत सम्बद्ध संस्थासँग सहकार्य गरिने लगाएतका कार्यक्रमलाई प्राथमिकता दिइने घोषणा पत्रमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button