खोटाङ, ७ भदौ –
हेलिकप्टर कुर्दाकुर्दै शुक्रबार साँझ ज्यान गुमाएका खोटाङका एक शिक्षकको आश्रित परिवारको सहयोगका लागि रकम सङ्कलन सुरु गरिएको छ ।
उच्च ज्वरोका कारण सिकिस्त बिरामी बनेपछि अस्पताल लैजान हेलिकोप्टरको प्रतिक्षा गर्दागर्दै ज्यान गुमाएका बुइपा–२ का शिक्षक दीपक राईका श्रीमतीसहित दुई नाबालिका छोरीको सहयोगका लागि रकम सङ्कलन सुरु गरिएको हो ।
सहयोग रकम सङ्कलनका लागि अमरकुमार राईको अध्यक्षतामा स्व शिक्षक दीपक राई स्मृति सहयोग समिति गठन गरिएको छ । सहयोग सङ्कलन समितिले शिक्षक राईको योगदानलाई स्मरण गर्ने वातावरण बनाउन अक्षयकोष खडा गर्ने र श्रीमतीसहित दुई आश्रित बालिकाको पठनपाठनको व्यवस्था मिलाउने जनाएको छ ।
शुभेच्छुकबाट सङ्कलन गरिने रु १० लाखमध्ये केही रकम शिक्षक राईकी ७ वर्षीया छोरी सुम्निमा र ५ वर्षीया छोरी डिम्पल राईको पठनपाठनमा खर्च गर्ने तथा बाँकी रकम अक्षयकोषमा जम्मा गरेर वार्षिकरुपमा जिल्लाका जेहेन्दार र मेहनति शिक्षकलाई पुरस्कृत गरिने सहयोग समितिका सदस्य–सचिव राजेश चाम्लिङले बताउनुभयो ।





