लोकतन्त्रमा कोही सानो ठूलो नहुने– मन्त्री यादव

काठमाडौँ, १० भदौ –

विगतको सशस्त्र द्वन्द्वबाट क्षतिभएका भौतिक पूर्वाधारको पुनःनिर्माण हुन नसकेकामा शान्ति तथा पुनःनिर्माण मन्त्रालयका कर्मचारीले नवनियुक्त मन्त्रीको ध्यानार्कषण गराएका छन् ।

नवनियुक्त मन्त्री सीतादेवी यादवको सम्मानमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव सर्वोजितप्रसाद यादवले सो ध्यानार्कषण गराउनुभएको थियो ।

मन्त्रालयमा मन्त्रीको पद बहाली भएलगत्तै आयोजित कार्यक्रममा सचिव यादवले दुईतिहाइ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण हुन बाँकी रहेको बताउनुभयो ।

दशवर्ष पहिले २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भई माओवादी लडाकुको नेपाली सेनामा समायोजन, द्वन्द्वपीडित जनताको उपचार, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्ने उद्देश्यले शान्ति तथा पुनःनिर्माण मन्त्रालयको गठन भएको थियो ।
मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिनुहुँदै कामप्रतिको ढिलासुस्ती र अपारदर्शीताले लोकतन्त्रलाई कुरुप बनाउने हँुदा त्यस कार्यतर्फ सजग हुन आग्रह गर्नुभयो ।

उहाँले लोकतन्त्रमा सानो र ठूलो नभई कामले सानो र ठूलो छुट्ट्याउँछ भन्नुहुँदै परिणाम प्राप्तिका लागि सदैव कामप्रति चनाखो भई काम गर्नुपर्ने समय आएको बताउनुभयो ।

दशवर्ष पहिले चैत १८ गते शान्ति सचिवालयको खारेजी र मुलुकमा दिगो शान्ति कायम गर्ने अभिप्रायबाट स्थापित सो मन्त्रालय अन्तर्गत रु ३५ अर्ब बराबरको क्षतिग्रस्त भौतिक पुनःसंरचनाको निर्माण हुनुपर्नेमा हालसम्म रु नौ अर्बबराबरका क्षतिग्रस्त संरचनाको पुनःनिर्माण भएका छन् ।

नेपाली काँग्रेसको काठमाडौँमा सम्पन्न तेह्रौ महाधिवेशनबाट नेपाली काँग्रेस पार्टीको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित नवनियुक्त शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव शहिद चन्द्रनारायण यादवकी पत्नी हुनुहुन्छ । २०५७ असार ५ गते चन्द्रनारायण यादवको तत्कालीन माओवादीले हत्या गरेपछि उहाँ नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुँदै आउनुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button