पोखरा,१२ भदौ –
पोखरा उद्योग वाणिज्य संघ तथा पोखरा इलेक्ट्रिसियन क्लवको आयोजनामा उद्योगमा प्रयोग हुने नविनतम विद्युतीय पद्धतिको तालीम दिइएको छ ।पाँच दिने तालीममा पोखरामा विद्युतीय पद्धतिमा कार्यरत २५ जना प्राविधिकहरुको सहभागिता रहेको थियो ।
विद्युतीय क्षेत्रमा पछिल्लो समय प्रयोगमा आएको प्रोगामेबल लोजिक सिस्टम(पिएलसी) र हुम्यान मेसिन इन्टरफेयर(एचएमआई) बारे जानकारी दिने उदेश्यले तालीमको आयोजना गरिएको हो । तालीममा गणेश जोशी र इञ्जिनियर सरोज बरालले प्रशिक्षण दिनुभएको थियो । तालीम समापन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुुकुमार थापाले घरको वाइरिङ देखि विद्युतका अन्य काम गर्ने प्राविधिकहरु दक्ष हुँदा आम नागरिकले सुरक्षाको अनुभूति गर्ने बताउनुभयो । राम्रो आम्दानी हुने यो क्षेत्रमा दक्ष कामदारको अभाव रहेको बताउँदै उहाँले तालीमले दक्ष नेपाली जनशक्ति उत्पादनमा सहयोग पुरयाउने बताउनुभयो । आफूले सिकेका कुरा व्यवहारमा उतार्न उहाँले आग्रह समेत गर्नुभयो । अध्यक्ष थापाले आफूले समेत बिजुली जडानसम्बन्धी तालीम लिएर घरमा वायरिङको काम गरेको स्मरण गर्दै स्वरोजगारको लागि विद्युतीय क्षेत्रको काम सबैभन्दा राम्रो भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै पोखरा इलेक्ट्रिसियन क्लवका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले तालीमले विद्युतीय क्षेत्रमा काम गर्नेहरुलाई थप दक्ष बनाएको बताउनुभयो । उहाँले आउँदा दिनहरुमा उच्चस्तरका अन्य तालीमहरुको आयोजना गरिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
प्रशिक्षक गणेशदत्त जोशीले तालीमपछि प्रशिक्षार्थीहरुले आफूले नै डिजाइन गरी विभिन्न काम गर्न सक्षम भएको बताउनुभयो । पोखरा इलेक्ट्रिसियन क्लवका कोषाध्यक्ष इञ्जिनियर सरोज ढकालले संचालन गरेको कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट गोविन्द पौडेलले समेत मन्तव्य राख्नुभएको थियो ।





