डार्विन, १२ भाद्र –
अष्ट्रेलियाको उत्तरी शहर डार्विनमा तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए नर्थ टेरिटरी र नेप्लिज एसोसियसन अफ नर्दन टेरिटोरी (नान्ट)को संयुक्त आयोजनामा तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नर्थ टेरिटरीका मुख्य मन्त्री एडम ग्लिस सहभागी बनेका थिए । त्यहाँका मेयर, सभासदहरूका साथै अष्ट्रेलियालीहरूको पनि बाक्लै जमघटले तिज कार्यक्रम रोचक मात्र नभई नेपाली चाडपर्व र रितिरिवाज बिदेशी माँझ समेत पुग्न सफल भएको छ। कार्यक्रममा डार्विनबासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।
बिशेष त कार्यक्रममा दुवै देशको राष्ट्रिय गान बज्दा अष्ट्रेलिया र नेपाल बिचको सम्बन्धलाई समुदाय माँझ झनै बलियो बनेको सन्देश पुगेको थियो। यस्तै बिशेष आकर्षणको रुपमा चर्चित लोक गायिका कोमल वलीले डर्बिनका नेपालीहरुलाई मात्र होईन बिदेशिहरुलाई समेत नचाईन् । आफ्ना नयाँ पुराना तिज गीत सँगै पुराना चर्चित गीतहरु समेत सुनाउन भ्याईन् । साथमा स्थानीय कलाकारहरूले पनि दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । एनआरएन नर्थ टेरिटरीका संयोजक निरज गरूङले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै तिज गीत गाएर दर्शकहरुलाई उत्साहित बनाएका थिए। यस्तै नान्टका अध्यक्ष सुदीप श्रेष्ठले नेपाली कला र संस्कृतिको संरक्षणका लागि यस्ता किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिई रहने प्रतिबद्दता ब्यक्त गरे।
तिज कार्यक्रमको संयोजन अन्जना पन्त बरालले गरेकी थिईन् भने संचालन कृष्णबहादुर रानाभाट र मनिषा गुरुङले गरेका थिए ।एजेन्सी





