लोकतान्त्रिक प्रणालीको नयाँ स्वरुपबाट देश अघि बढ्छ – उपप्रम निधि

काठमाडौँ, १६ भदौ –

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीको नयाँ स्वरुप निर्माण प्रक्रियाबाट देश अगाडि बढ्न लागेकोे बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाजले नेपाली काँग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीलाई बधाई दिन आज यहाँ आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री निधिले गणतन्त्र, सङ्घीयता, समावेशी, मिश्रित निर्वाचन प्रणाली र धर्म निरपेक्षताजस्ता नयाँ स्वरुपलाई संस्थागत गर्ने चरणमा लागिएको बताउनुभयो ।

bimalnendra nidhi 2

“यी विषयलाई संस्थागत गर्न मधेसको समस्या संविधान संशोधनका माध्यमबाट सम्बोधन गरिनुपर्छ, संशोधनपछि कार्यान्वयनका लागि तीन तहको निर्वाचन प्रक्रिया अघि बढ्न सहज हुन्छ” – उहाँले भन्नुभयो । मधेस समस्यालाई सम्बोधन गरी संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुरयाउनु वर्तमान सरकारको प्राथमिकता रहेको पनि मन्त्री निधिले बताउनुभयो ।

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले काठमाडौँ केन्द्रित बसाइ सराइलाई रोक्न नगर भइसकेका र नगरोन्मुख गाउँमा ढल, खानेपानी, व्यवस्थित सडक, हरियाली क्षेत्रलगायत संरचना निर्माण गर्न मन्त्रालयले कार्य गर्ने बताउनुभयो । “सहरको विकास भनेको ठूला भवनको विकास भन्ने मात्र सोच बनेको छ, ग्रामीण, नगरोन्मुख एवम् साना सहर बनिसकेकाको व्यवस्थित विकास गरिनु नै वास्तवमा सहरी विकास हो” – उहाँले भन्नुभयो ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले बन्द भएका उद्योग खोल्ने गृहकार्य सुरु गरिएको जानकारी गराउनुभयो । “बेरोजगारी समस्या समाधान गर्न र रोजगारीकै लागि विदेशिनुपर्ने बाध्यतालाई कम गर्न पनि नयाँ उद्योग खोल्ने एवम् भएकालाई सञ्चालन गरिनुपर्छ” – उहाँले भन्नुभयो ।

कार्यक्रममा परराष्ट्रविद् मधुरमण आचार्य, प्रशासनविद् जैनेन्द्र जीवन, कानुनविद् उपेन्द्रकेशरी न्यौपाने, चिकित्सक डा अञ्जनीकुमार झा, समाजका अध्यक्ष डा केदारनरसिंह केसी, उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्ले, पत्रकार गोकर्ण अर्याललगायतका वक्ताले प्रजातान्त्रिक संस्कारको विकासमा मन्त्रीहरुले योगदान पुरयाउनुहुने विश्वास व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button