मुलुक प्रजातान्त्रिक समाजवादको पद्दतिमा अगाडि बढिरहेको छ – डा महत

काठमाडौँ, १८ भदौ –

नेपाली काँग्रेसका नेता डा. रामशरण महतले मुलुक प्रजातान्त्रिक समाजवादको पद्दतिमा अगाडि बढिरहेको बताउनुभएको छ ।

प्रजातान्त्रिक सम्वद्र्धन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाल निर्माणमा प्रजातान्त्रिक समाजवादको आधार’ विषयक अन्तक्र्रियामा बोल्दै डा महतले प्रजातान्त्रिक समाजवादका कारण ग्रामीण क्षेत्रमा मोटर बाटो, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सुविधा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आजभन्दा २५ वर्ष पहिला ४० प्रतिशत जनताले शुद्ध खानेपानी पिउन पाउँथे अहिले ८५ प्रतिशत पुगेको छ, प्रतिव्यक्ति आयु ५४ वर्ष थियो अहिले ७१ वर्ष पुगेको छ, गरिबी ४९ प्रतिशत थियो अहिले २३ प्रतिशत पुगेको छ यो सबै प्रजातान्त्रिक समाजवादको उपलब्धि हो ।” डा महतले नेपाली काँग्रेसको सरकारले प्रजातान्त्रिक समाजवादको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको पनि स्पष्ट पार्नुभयो ।

नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुषालले चुनावमा पैसा दिएर भोट किन्ने प्रवृित्त वा जाँडरक्सी खुवाउने प्रवृत्तिले प्रजातान्त्रिक समाजवादको रक्षा हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रजातान्त्रिक समाजवादको रक्षा गर्ने हो भने राजनीति दलबीच एकता हुनु आवश्यक छ ।”

नेता भुषालले संविधान कार्यान्वयन भएर देशलाई विकासको बाटोमा अगाडि बढाए मात्र प्रजातान्त्रिक समाजवादको रक्षा हुने स्पष्ट पार्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले राजनीति दलका नेता पदमा पुगेपछि प्रजातान्त्रिक समाजवादको नारा बिर्सने गरेको आरोप लगाउनुभयो । उहाँले जनतालाई अभाव र देशलाई सङ्कटमा राखेर प्रजातन्त्र संस्थागत हुन नसक्ने स्पष्ट पार्नुभयो ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य किरण यादवले मधेसमा देखिएको आन्दोलनलाई नटुङ्ग्याएसम्म प्रजातान्त्रिक समाजवाद अगाडि बढ्ननसक्ने बताउनुभयो । उहाँले सामाजिक लोकतान्त्रिक पद्दतिलाई अङ्गिकार गरेर अगाडि बढेमात्र मुलुक अगाडि बढ्ने बताउनुभयो ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले समाजवादी धारामा संविधान निर्माण भएकाले यसै आधारमा कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले वर्षेपिच्छे सरकार बदलिएर लोकतान्त्रिक समाजवादको रक्षा नहुने स्पष्ट पार्नुभयो ।

सम्वद्र्धन केन्द्रका अध्यक्ष डा जगदिशचन्द्र पोखरेलले मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक पक्षको विकासका लागि लोकतान्त्रिक समाजवादको पद्दतिलाई अगाल्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button