पर्यटकीय क्षेत्र खुलाउन र एकद्वार प्रणाली लागू गर्न टानद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २० भदौ –

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले निषेधित पर्यटकीय क्षेत्र खुलाउन र पर्यटकीय गतिविधि सम्बन्धी एकद्वार प्रणाली लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

टानका अध्यक्ष चन्द्र रिजाल नेतृत्वको टोलीले आइतबार पर्यटन मन्त्री जीवनबहादुर शाहीसँग सिंहदरबारमा भेटगरी पर्यटकीय कामलाई सुलभ र प्रभावकारी बनाउन आग्रह गरेको हो ।

पदयात्रामा ‘नो ट्रेकिङ् वीदाउट गाईड, पोर्टर’, इन्सुरेन्सको समस्या, छ हजार ५०० मिटर मुनिका शिखरको व्यवस्थापन आदि मागसहितको पत्र पर्यटन मन्त्रीलाई बुझाइएको अध्यक्ष रिजालले राससलाई जानकारी दिनुभयो ।

जवाफमा मन्त्री शाहीले व्यवसायीको मागप्रति आफू गम्भीर रहेको र आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा परिवर्तनमूलक काम गरेरै देखाउने अठोट लिएकाले पर्यटनका कामलाई छिटो छरितो बनाएर लैजाने विश्वास दिलाउनुभएको अध्यक्ष रिजालले बताउनुभयो ।

त्यसैगरी, टानले आन्तरिक पर्यटकहरुले हरियो प्लेटका गाडी चढ्न पाउने व्यवस्था गर्न माग पनि गरेको छ ।

राज्यले नियम कानुन नबनाई आन्तरिक पर्यटकलाई हरियो प्लेटका सवारीसाधनको प्रयोगमा रोक लगाउँदा पर्यटनमा नकारात्मक सन्देश जाने र यसले पर्यटक आवागमनमा असर पर्ने भएकाले मन्त्रालयको ध्यानाकर्षण गराइएको अध्यक्ष रिजालको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button