खाद्यान्न अभाव हुने जिल्लामा चामलको कोटा निर्धारण

धनगढी, २० भदौ –

खाद्यान्न अभाव हुने हिमाली र पहाडी जिल्लामा आव ७३-७४ मा ढुवानी अनुदानमा बिक्री वितरण गरिने चामलको कोटा निर्धारण गरिएको छ ।

नेपाल खाद्य संस्थान धनगढीशाखाका अनुसार, बाजुराको कोल्टी र मार्तडी डिपोका लागि २२ हजार क्विन्टल, बझाङ्गको चैनपुर र बिसौनी डिपोका लागि दुई हजार ५०० क्विन्टल, र अछामको मङ्गलसेन, कमलबजार तथा विनायक डिपोका लागि एक हजार ५०० क्विन्टल चामलको कोटा छुट्याइएको छ ।

यसैगरी बैतडीको पुर्चौडीहाट डिपोका लागि एक हजार ५०० क्विन्टल र दार्चुलाको पारीबगर, खण्डेश्वरी, सुनसेरा डिपोका लागि चार हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको शाखा प्रमुख डिल्लीराज लम्सालले बताउनुभयो ।

हुम्लाको श्रीनगर डिपोका लागि एक हजार ७०० क्विन्टल, हुम्ला सदरमुकाम सिमिकोट डिपोका लागि ६०० क्विन्टल, मुगु सदरमुकामका लागि एक हजार क्विन्टल चामालको कोटा छुट्याइएको छ ।

बाजुरा जिल्ला र हुम्ला जिल्लाको श्रीनगरमा गत वर्षको भन्दा चालु वर्षमा चामलको कोटा बढाइएको छ । गतवर्ष बिक्री वितरणका लागि पठाइएको चामल बिक्री हुन नसकेपछि अछाम जिल्लामा भने यसवर्ष चामलको कोटा घटाइएको छ ।

यी जिल्लामा कोटाको चामल आपूर्तिका लागि ठेकेदारसँग सम्झौता भइसकेकाले आगामी असोजको पहिलो हप्ताबाट आपूर्ति गरिने शाखा प्रमुख लम्सालले बताउनुभयो ।

बझाङ जिल्लामा अहिले पनि ३०० क्विन्टल चामल मौजात रहेको तर त्यहाँ खाद्यान्य अभाव भएको भनेर सञ्चार माध्यमबाट प्रशारित समाचार असत्य रहेको दाबी उहाँले गर्नुभयो ।

चामलको साविकको मूल्य घटाइयो 

अनुदानको चामल महँङ्गो भएको भन्ने स्थानीय बासिन्दाको गुनासोलाई मध्यनजर गर्दै आपूर्ति हुने कोटाको चामल खपत गराउन र नजिकिँदै आएको चाडपर्वमा राहत दिन बाजुराको कोल्टी बाहेकका डिपोमा चामलको मूल्य साविकको भन्दा घाटाइएको छ ।

संस्थानले प्रतिकिलो रु ४१ मा बिक्री वितरण हुँदै आएको कोटाको चामलको बिक्री मूल्य घटाएर रु ३७।०५।–पुरयाएको लम्सालले जानकारी दिनुभयो ।

खाद्यान्य अभाव हुने कतिपय स्थानमा संस्थानका डिपोबाट ढुवानी अनुदानमा बिक्री हुने चामल स्थानीय बजारमा पाइने चामलको मूल्य भन्दा महँगो हुने गरेको जनगुनासो आएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button