‘चन्द्रागिरिमा पृथ्वीनारायणको शालिक निर्माण गरौँ’

काठमाडौँ, २२ भदौ –

पूर्वप्रधानमन्त्री एवम् नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

आज नेकपा (एमाले) पर्यटन विशेष इलाका कमिटीले काठमाण्डौको चन्द्रागिरिमा आयोजना गरेको चन्द्रागिरि हिल्स पर्यटन प्रवद्र्धन कार्यक्रममा बोल्दै उहाँले चन्द्रागिरि ऐतिहासिक भूमि भएकाले यहाँ नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, “चन्द्रागिरिको यो डाँडो धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो । पृथ्वीनारायण शाहले यही डाँडाबाट हेरेर जुँगा मुसार्दै काठमाण्डौ आक्रमण गर्ने योजना बनाएर सफलता हासिल गरे । त्यसैले यहाँ शालिक निर्माण गर्नु उचित हुन्छ ।”

उहाँले यहाँ धार्मिक तथा ऐतिहासिक महत्व झल्कने पूर्वाधारको विकास गर्न सरकारसँग आग्रह गर्दै भन्नुभयो, “म सरकारलाई यस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकास गर्न आग्रह गर्न चाहन्छु । नभए समय पर्खनुस्, यसको विकासमा लाग्ने सरकार बनिहाल्छ ।” उहाँले चन्द्रागिरि हिल्स प्रालिका प्रमुख चन्द्रप्रसाद ढकाललाई पर्यटन विकासमा योगदान पुरयाएको कदरस्वरुप सम्मान गर्नुभएको थियो ।

प्रालिका प्रमुख ढकालले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न चन्द्रागिरिमा केबलकार सञ्चालन गरेको बताउनुभयोे । दलका भ्रातृ सङ्गठन र विभिन्न निकायले चन्दा आतङ्क मच्चाउने र धम्की दिने कार्र्य रोक्नुपर्नेमा उहाँको जोड थियो ।

एमाले अध्यक्ष ओली, ओली पत्नी राधिका शाक्य, एमालेका पूर्वअध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल, सल्लाहकार कमिटी अध्यक्ष केशव बडाल, स्थायी कमिटी सदस्य किरण गुरुङ, मुकुन्द न्यौपाने, पूर्वमन्त्री महेश बस्नेतलगायतका एमालेका स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटी इन्चार्ज, एमाले कार्यकर्ता, पर्यटन व्यवसायी र पत्रकारले चन्द्रागिरिको भ्रमण गरेका थिए ।

केबुलकारमा चन्द्रगिरि डाँडामा पुगेको टोलीले हिल्सले निर्माण गरेका विभिन्न संरचनाका साथै भालेश्वर मन्दिर क्षेत्रको अवलोकन गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button