न्याय सेवामा राम्रो काम गर्ने प्रयास गर्छु – प्रधानन्यायाधीश

काठमाडौँ, २४ भदौ –

प्रधानन्यायाधीश सुशीला कार्कीले न्याय सेवामा आफूले सधैँ राम्रो काम गर्ने प्रयास गर्ने बताउनुभएको छ ।

नेपाल बार एसोसिएसन, महिला समितिले आज यहाँ आयोजना गरेको कानुन व्यवसायी महिलाको २५ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले आफू पदमा रहुन्जेलसम्म राम्रो काम गर्ने प्रयास गर्ने बताउनुभयो ।

प्रधानन्यायाधीश काकीले भन्नुभयो – “काम गर्दा नेपालमा जस पाइँदैन, आर्यघाटमा पुगेपछि मात्र जस पाइन्छ, आलोचना गरुन्, मलाई वास्ता छैन तर म सधैँ राम्रो काम गर्ने प्रयास गर्छु ।” उहाँले कानुन व्यवसायी महिलाले आफ्नो क्षमता अभिवृद्धि गरी न्यायाधीश बन्न लायक हुनुपर्नेमा जोड दिँदै भन्नुभयो – “तपाईंहरु सक्षम हुनुपर्छ, सङ्घर्षशील हुनुपर्छ, न्यायाधीशमा महिला भर्ती गर्न म तयार छु, न्याय परिषद्ले महिलालाई भर्ती गर्छ ।”

प्रधानन्यायाधीश कार्कीले कानुन व्यवसायी महिलाले दूरदराजमा रहेका महिलालाई न्याय हुनेखालको काम गर्नुपर्नेमा जोड दिँदै राम्रो काम गर्नका लागि न्यायालयले सदा सहयोग गर्ने बताउनुभयो ।

न्यायाधीश सपना मल्ल प्रधानले न्याय क्षेत्रमा गुणात्मक वृद्धि हुँदै गएको र अझ आर्थिक तथा व्यावसायिक क्षेत्रमा कानुन व्यवसायी महिला अब्बल हुनुपर्ने आवश्यकता औँल्यानुभयो ।

न्यायाधीश मीरा खड्काले न्याय क्षेत्रमा कानुन व्यवसायी महिलाको राम्रो सम्भावना रहेको र त्यसका लागि कडा मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले बारमा कानुन व्यवसायी महिलाको सङ्ख्यात्मक र गुणात्मक वृद्धि गर्न प्रयास भइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, सर्वोच्च बारका अध्यक्ष शैलेन्द्रकुमार दाहाल, वरिष्ठ अधिवक्ता तथा बारका पूर्वअध्यक्ष शम्भु थापालगायतले कानुन व्यवसायी महिलाको काम संवेदनशील, इमान्दार भएको र गुणात्मक वृद्धिसमेत हुँदै गएको विचार राख्नुभयो ।

देशभरका कानुन व्यवसायी महिलाको व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष सम्मेलन गर्ने गरेको बारको उपाध्यक्ष तथा बार महिला समितिका अध्यक्ष उमा मल्ल पाठकले जानकारी दिनुभयो ।

‘आर्थिक क्षेत्रमा महिला सहभागिता : संवैधानिक हकको सुनिश्चितता’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनले महिलालाई व्यावसायिक दक्षता वृद्धि तथा पेसाप्रति प्रोत्साहन र उनीहरुको हकहितका लागि विभिन्न विषयमा छलफल गर्नेछ ।

सम्मेलनमा देशभरबाट ५०० प्रतिनिधि सहभागी छन् । कानुन व्यवसायी महिलाको हकहित सुनिश्चित गर्ने मागसहितको काठमाडौँ घोषणापत्र जारी गरी शनिवार सम्मेलन सम्पन्न हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button