पोखरा, २४ भदौ –
स्वास्थ्य मन्त्री गगन थापाले चैत महीनामा स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन । बी .पी . कोइरालाको १०२ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस कास्कीले सुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले उृक्त कुरा बताएका हुन ।
उनले भने “ निर्वाचन गर्नका लागि सरकारले विधेयकहरु बनाएर व्यवस्थापिका संसदमा पेश गरेको छ, अब स्थानीय निकायको निर्वाचन हुन्छ, यसमा कुनै आशंका नगर्नुहोस । ” स्थानीय तहमा गाउंपालिका र नगरपालिका ७०० देखि ७५० सम्मको हाराहारीमा बनाउन उपयुक्त हुने धारणा राख्दै मन्त्री थापाले तर यसको निधो गर्न केही समय लाग्ने जनाए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री थापाले अव चुनाव हुन्छ की हुंदैन भने अलमलमा नपरी तैयारी गर्न पार्टी कार्यकर्ताहरुसंग आग्रह गरे । अघिल्लो सरकारले निर्वाचन सम्वन्धी कुनै काम नै नगरी मंसीरमै चुनाव गर्ने भनेर गफ मात्रै चुटेकोे बताउंदै उनले कामै नगरी रेल, पानी जहाज र घरघरमा ग्यांसको पाईप पुग्न नसक्ने दाबी गरे ।
देशका विशिष्ट व्यक्ति र सर्वसाधारण नेपाली जनताको अधिकार समान भएको बताउंदै स्वास्थ्य मन्त्री थापाले विशिष्ट व्यक्तिले सामान्य उपचारका लागि विदेश जान राज्यकोषबाट पैसा पाउने तर दीनदुःखी उपचारै गर्न नसकी मर्ने स्थितिको अन्य गर्न आफु लागी गर्ने बताए ।
पूर्व सभामुख तारानाथ रानाभाटले बी .पी .ले देखाएको बाटोमा हिड्न सकिएमा मात्रै उहांप्रति सच्चा श्रद्धान्जली गरेको ठहरिने विचार व्यक्त गरे । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण बहादुर के .सीको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेस नेताहरु शुक्रराज शर्मा, खेमराज पौडेल र कोषाध्यक्ष लक्ष्मी पाण्डेले बी .पी .ले गरेका योगदानका बारेमा चर्चा गरेका थिए ।





