पोखरा, २७ भदौ –
चन्द्र बहादुरको जस्तो मन सबैको हुनुपर्छ
गाडी चालक र सहचालकहरुले आफ्नो गाडीमा भेटिएको माल सामान बुझाउदैनन भन्ने आरोप लागिरहेका बेला एक सहचालकले भने त्यस्तो आरोपलाइ गलत साबित तुल्याइदिएका छन् । पृथ्बीराजमार्ग बस संचालक समिति अन्र्तगतको सुनौली पोखरा चल्ने गाडीमा भेटिएको करीब १० तोला सुन सहचालक जिम्मेवार र नैतिकवान भएकै कारणले गर्दा सम्बन्धित व्यक्तिको हातमा पर्न सफल भएको छ ।

तिजको समयमा आफन्तकोमा गएकी एक महिला केशरी पराजुली शुक्रबार स्याङजाको गल्याङ्गबाट ग १ ख ३४२० नम्बरको बसमा चढेर बाँयाटारीमा करीब १३ किलोमिटर यात्रा गरे पछि झोला भुलेर बसबाट झरेकी थिईन । उक्त बसका सहचालक चन्द्र बहादुर क्षेत्रीले बस सफा गर्दा भेटेका थिए भने भेटिएको उक्त सामान समिति मार्फत सोमबार सम्वन्धित व्यक्तिलाई बुझाएको समितिका सचिव जय प्रकास शर्माले बताए । भेटिएको करीब १० तोला बराबरको सुनका सामान सहित करीब ३ हजार रुपैया पराजुलीलाई बुझाइएको शर्माले जनाए । पोखराको पृथ्बीचोक स्थित बसपार्कमा बस आइपुगेपछि सहचालक चन्द्र बहादुर क्षेत्रीले बस सफा गर्दा पछाडि तर्फको सिट मुनि झोला फेला पारेका थिए । झोलामा दुई वटा सुनको बाला, दुई वटा औठी, एउटा मंगलसुत्र, पाउजु सहित चुरा रहेको थियो । साथै झोलामा तीन हजार नगद र परिचय पत्र पनि रहेको थियो ।
इमानदार सहचालक भएकै कारणले गर्दा आफ्नो सामान भेटाउन सफल भएकी पराजुलीले गरगहना बसमा लगाउदा चोरी हुने डरले झोलामा राखेकी थिइन । हतारमा ख्यालै नगरी बसबाट झर्दा झोला गाडीमै छाडेर हिडेकी उनले पछी बायाँटारीमा बस्ने आफ्ना जेठाजु भिम पराजुलीलाई खबर गरेकी थिइन भने प्रहरी हुदै पराजुलीले समितिमा फोन गरेका थिए । झोला छाडेको केहि घण्टा नबित्दै बसमा भेटिएको सुचना पाएसंगै पराजुली ढुक्क भएकी थिईन ।
आफ्नो सामान सहि ढंगले भेटिएकोमा सहचालक क्षेत्रीलाई पराजुलीले ईमानदार सहचालक बन्न सफल भएकोमा खादा लगायर सम्मान गर्दै ५ हजार पुरस्कार दिएकी छन ।
फोटो : खबरसेवा बाट





