मेरो जितको आधार संघमा मेरो विगत र शसक्त्त टिम नै हो- देव क्षेत्री

पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाधिवेशन यही भदौ ३१ र असोज १ गते हुदैछ । यसै बर्ष देखि विधान संशोधन भएपछि उम्मेदवारका धेरै जना आकाक्षी चुनावी मैदानमा उत्र्रिएका छन । अध्यक्ष पदमा तीन जना संचार उद्यमी सहित ६ जना अध्यक्षका प्रत्याशी चुवानी मैदानमा रहेका छन । अध्यक्षका प्रत्याशी उम्मेदवार देव क्षेत्रि संग पोखरा न्युज डटकमले गरेको कुराकानीको छोटो अंश ।

पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुनु हुन्छ, तयारी कस्तो भइरहेको छ ?
हो, पोखराकै अग्रणी संस्था पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा मैले उम्मेदवारी घोषणा गरिसकेको छु । अग्रज, सुभेच्छुक र सहकर्मीसँगको सल्लाह अनुसार म चुनावी मैदानमा होमिएको हुँ । अहिले आफ्नो टिमको साथमा मतदाताकोमा घर दैलो अभियानमा जुटिरहेको छु ।

संघको पहिलो पटक विधान सम्सोधन भएकोले यसपाली चुनावी माहोल कस्तो भई रहेको छ ?
पोखरा उद्योग वाणिज्य संघको विधान संशोधन हुनुभन्दा पहिला अध्यक्षमा मतदान हुने गरेको थियो । अन्य पदाधिकारी कार्यसमिति सदस्यमध्येबाट मनोनीत गर्ने प्रावधान थियो । अहिले विधान संशोधन भएपछि अन्य मुख्य पदहरुमा समेत निर्वाचन हुने व्यवस्था भयो । अध्यक्षवाहेक अन्य पदमा पनि उम्मेदवारहरुको आकर्षित हुनुपर्नेमा त्यसो देखिएन । अहिले कार्यसमितिमा रहेका ५ र निवर्तमान कार्यसमितिबाट १ गरी छ जना चुनावी मैदानमा छौं । यसको पछि कारण के छ मैले बुझ्न सकेको छैन । अरु पदमा उठेर हार्नुभन्दा अध्यक्षमै उठ्ने रहरले पो हो कि ? सहमतिबाट जान सके सबैजनाई पद पुग्ने अवस्था थियो । त्यो हुन सकेन ।

तपाई एक दशक देखि संघमा आवद्ध हुदै प्रथम उपाध्यक्षसम्मको जिम्मेवार वहन गर्दा संघमा तपाईले के कस्तो भुमिका खेल्नु भयो ?
स्थापनाकाल देखि नै पोखरा उद्योग वाणिज्य संघले व्यवसायीको हितभन्दा माथि उठेर सामाजिक, शैक्षिक र अन्य क्षेत्रमा समेत विशेष योगदान पु¥याउँदै आएको छ । पृथ्वीनारायण क्याम्पस, कन्या स्कुल, पोखरा वहुमुखी क्याम्पस मात्र नभएर पोखरा विश्वविद्यालयको स्थापनामा पोखरा उद्योग वाणिज्य संघले सक्रियरुपमा अगुवा भएर काम ग¥यो । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा दबाब दिन संघकै नेतृत्वमा दबाबमूलक कार्यक्रम पनि गरियो । जसका कारण विमानस्थल शिलान्यास भएर काम अघि बढेको छ । यहाँ मैले के जोड्न खोजेको भने पोखरा उद्योग वाणिज्य संघ यो क्षेत्रको विकासको साझेदार हो र समाजसेवामा पनि क्रियाशील छ । लायन्स अन्तराष्ट्रियको सहकार्यमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हर्ट केयर सेन्टर सञ्चालनमा पोखरा उद्योग वाणिज्य संघले सहयोग गरेको छ । यी र यस्तै धेरै काममा संघले अगुवाइ र सहयोग गरेको छ, यस्ता कार्यलाई मैले निरन्तरता दिनेछु ।

संघको अध्यक्षको उम्मेदवारीमा तपाई जस्तै ६ जना हुनुहुन्छ तर पोखरेली उद्योगी व्यवसायीहरुले तपाईलाई नै किन मत दिने ?
जहाँसम्म मेरो सवाल छ, २०६३ सालदेखि लगातार कार्यसमितिमा क्रियाशील रहँदा उद्योगी, व्यवसायी साथीहरुले सधैं मलाई माया गर्दै आउनुभएको छ । २०६७–६९ को कार्यसमितिमा द्वित्तीय उपाध्यक्ष र वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष भएर काम गरेकाले स्वभाविक रुपमा मेरो पालो हो । त्यसैले म अध्यक्षमा उठेको हुँ । आफ्नो ब्यवसायका अतिरिक्त चेम्बर आन्दोलनमा लागेको, दर्जनौं पटक कार्यवाहक अध्यक्ष भएर काम गरेको अनुभव म सँग छ । देश विदेशका सहरमा पुगेर त्यहाँका चेम्बरले गरेको गतिविधिलाई मैले नजिकबाट बुझेको छु । त्यसलाई लागु गर्ने मेरो प्रयत्न रहनेछ ।

संघमा हाल तपाईले देखेका समस्या के के हुन ? ती समस्याको समाधन गर्न तपाई यदी अध्यक्षमा निर्वाचित हुदा कस्तो र यदी पराजित हुदा कस्तो भुमिका खेल्नु हुन्छ ?
६ दशक पहिला जुन उद्देश्यले संघको स्थापना भएको थियो, त्यही अनुसार कार्य हुँदै आएका छन् । संघमा त्यस्तो गहन समस्या त केही छैन, तर पनि समग्र पोखरेली उद्योगी व्यवसायीले यसमा अपनत्व महशुस गर्न सकेको पाइएको छैन । ४० हजार भन्दा बढी करदाता रहेको पोखरामा उद्योग वाणिज्य संघमा झण्डै ३ हजार मात्र सदस्य रहनु सकारात्मक मान्न सकिन्न । सचिवालयलाई अझै चुस्त बनाउनुछ । व्यवसायीहरुलाई पर्ने समस्या निराकरण गर्न अझै पहलकदमी चाल्नुपर्ने देखिएको छ । त्यसो त अहिले पनि हामीले हेल्प डेस्क सञ्चालनमा ल्याएका छौं । म पदमा नरहे पनि संघको विकास र आधुनिकीकरणका लागि हरदम लागिरहनेछु ।

अध्यक्षका अधिकांश प्रत्यासीहरुले पोखरेली उद्योगी व्यवसायीहरुको हकहित सहित पोखराको आर्थिक र समृद्धि हुने गरी काम गर्ने भनेका छन, यसमा तपाईले कसरी र थप के कस्ता योजना अघि सारेर चुनावी मैदानमा उर्तिदै हुनु हुन्छ ?

चेम्बर अभियानमा लाग्ने भनेको नै उद्योगी व्यवसायीको हितको लागि हो । म अध्यक्ष भएर धेरै कुरा गर्नसक्छु भने सपना बाँड्न चाहन्न । जे जे गर्न सकिन्छ त्यति मात्रै कुरा गर्ने हो । वर्तमान कार्यसमितिले अघि बढाएका कामलाई निरन्तरता दिनु मेरो पहिलो दायित्व हुनेछ । कतिपय कामलाई निरन्तरता दिनु छ भने कतिपय नयाँ सुरुवात पनि गर्नुपर्नेछ । व्यवसायीलाई आइपर्ने समस्या समाधान गर्नु चेम्बरको पहिलो दायित्व हो । उद्योग प्रशासन र मजदुरबीच विभिन्न खाले समस्या देखिने गरेका छन् । दुवै पक्षलाई राखेर दीर्घकालीन समाधानमा म केन्द्रित हुनेछु । आन्तरिक राजस्व कार्यालय र पोखरा उपमहानगरपालिकासँग हामीले सहकार्य गर्दै आएका छौं । करको दर भन्दा पनि दायरा बढाउन जोड दिने, अहिले निकै ठूलो समस्याको रुपमा देखिएको घरवाहल करलाई व्यवस्थित बनाउने, लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि मैले पहल गर्नेछु ।

यसो हेर्दा र बजारको माहोल बुझ्दा संघको नेतृत्व चयन हुने भए पनि संचार उद्यमीहरु बिचको भिडन्त, त्यसमा पनि राजनीतिककरण भएको छ भन्छन, यसमा तपाईको के भनाई छ ?
अध्यक्षका उम्मेदवार ३ जना सञ्चारमाध्यमबाट देखिएका छौं । तिनै जना पोखराको चेम्बर आन्दोलनमा लामो समय देखि क्रियाशील छौं । प्रथम उपाध्यक्ष भएको स्वभाविक रुपमा म अध्यक्षको दाबेदार रहेको म दोहो¥याउन चाहन्छु । यो व्यक्तिको लागि हुने चुनाव हैन संस्थाको लागि हो । यसमा कुनै राजनीतिक कारण मैले देख्दिन । हामी व्यवसायी हौं । राजनीतिक पार्टीको परिचयपत्र लिएर उद्योग वाणिज्य संघमा छिर्ने होइन । दलीय स्वार्थ बाहिर राखेर संघको ढोकाभित्र छिर्ने हो । व्यवसायीको हितमा काम गर्ने हो ।

संघको यस अघिल्ला संस्करणमा सर्वाधिक मत ल्याउदै आएको हुनाले यस पाली अध्यक्ष जस्तो जिम्मेवारी पदमा उठ्दै हुनुहुन्छ, यसमा आफूलाई अध्यक्षको पदमा कत्तिको दाबेदारी प्रस्तुत गर्न चाहनुहुन्छ ?
हो, २०६३ सालमा युवा उद्यमी मञ्च पोखराको प्रतिनिधिको रुपमा म संघको कार्यसमिति सदस्ययमा उठेको हुँ । त्यसपछि कहिल्यै पछि फर्केर हेर्नु परेको छैन । मतदाताको सहयोगबाट यो सम्भव भएको हो । द्वितीय उपाध्यक्ष र प्रथम उपाध्यक्ष भएर काम गरिसकेकाले मसँग प्रशस्त अनुभव छ । सदस्यबाट सिधै अध्यक्षमा लडेको भए अस्वाभाविक लाग्न सक्थ्यो । मतदाता समक्ष मेरो अन्तिम अनुरोध हो, विगतमा झै माया गर्नुहुनेनै छ । एक कार्यकालको लागि मात्र म अध्यक्षमा रहनेछु, अहिले विजयी गराएर पठाउनुभयो भने अर्को पटक म भोट माग्न आउने छैन ।

चुनावी अभियान अन्र्र्तगत घर दैलो कार्यक्रम कस्तो भइरहेको छ ?
मैले पहिलादेखि नै घर दैलो अभियान थालेको हो । धेरैजस्तो सदस्य मतदातालाई मैले पहिले नै चिनेजानको हुनुहुन्छ । उहाँहरु र नयाँ सदस्यलाई मैले घरदैलोमै पुगेर भेटेको छु । सद्भाव जनाउनु भएको छ । मुख्य बजारको क्षेत्रमा अब टिमको साथमा घुम्दैछु ।

अन्त्यमा पोखरेलीहरुलाई तपाईको सन्देश के छ ?
धेरै कुरा माथि नै भनिसकियो, छ जना उम्मेदवार चुनावी मैदानमा छौं । सबैले आफ्नो तरिकाले प्रचार गरिरहनुभएको छ । म कसैलाई आरोप प्रत्यारोप गर्न चाहन्न । पोखरामै जन्मे हुर्केको मैले पोखरावाहेक अन्यत्र कहिल्यै सोचिन । यहीं विभिन्न व्यवसाय सञ्चालन गरें । मैले सञ्चालन गरेका प्रतिष्ठानहरुमा दुई सय जना भन्दा बढीले प्रत्यक्ष रोजगारी दिँदै आएको छु ।
धेरैजसो मतदाताको घरमा पुगेको छु । यदि कहीं कतै छुटेको छ, भेटघाट हुन सकेको छैन भने आफ्नै भाइसाथी ठानेर मत दिई विजयी गराइदिनुहुन अनुरोध गर्छु । म एक्लै छैन । सशक्त टिम मसँग छ । तपाईंहरुकै भावना अनुसार हामी काम गर्ने प्रतिवद्धता जनाउन चाहान्छु ।

dev-pannel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button