पितृ उद्धारका लागि धार्मिक पर्यटकीयस्थल मुक्तिनाथमा

पोखरा –

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्धमा पितृ उद्धारको कामनासहित हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ जाने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

प्रत्येक वर्ष सोह्रश्राद्धका अवसरमा कागबेनीमा पिण्ड तथा तर्पण दान गरी मुक्तिनाथको दर्शन गरे दिवङ्गत पितृको उद्धार हुने धार्मिक विश्वासका कारण अहिले श्राद्ध गर्न जानेको चाप बढेको हो ।

मुक्तिनाथ मन्दिरका पुजारी कृष्ण सुवेदीका अनुसार बर्सेनि आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म धेरै भक्तजन आफ्ना दिवङ्गत बुबाको तिथि पारेर कागबेनीमा आई पिण्डदान गर्ने र मुक्तिनाथको दर्शन गरी फर्कने गरेका छन् ।

नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वास छ । मुक्तिनाथ भगवान् विष्णुको नाम हो । मन्दिरभित्र विष्णु, लक्ष्मीनारायण, भूदेवीका मूर्ति रहेको सो मन्दिर हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थलका रुपमा रहेको छ । मुक्तिनाथ र गुम्बामा हिन्दूका ब्राह्मण पुजारी र बौद्धका झुमाले आ–आफ्नै परम्पराअनुसार पूजा र रेखदेख गर्छन् ।

मुस्ताङ सदरमुकाम जोमसोमबाट पूर्वमा पर्ने मुक्तिनाथ तीन हजार ७१० मिटर उचाइमा छ । यहाँबाट धौलागिरि, निलगिरि, गणेश, थोरङ्लालगायत हिमचुली देखिन्छ । मन्दिरको उत्तरपूर्व रहेको ज्वालामाई मन्दिरभित्र आगोको ज्योति बलिरहेको देखिनु यहाँको अर्को विशेषता हो ।

सोह्रश्राद्धका अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ उद्धार एवम् पारिवारिक सुख शान्ति मिल्ने प्राचीन जनविश्वासका आधारमा यस समयमा धार्मिक पर्यटक मुक्तिनाथ जाने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

सोह्रश्राद्ध सुरु भएयता मुक्तिनाथ आउने धार्मिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको जनप्रिय युवा क्लब मुक्तिनाथका अध्यक्ष एवम् होटल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङको भनाइ छ ।

वर्षाका कारण गलेश्वर र चिप्लाङबीचमा पर्ने वेग खोलाको पुल क्षतिग्रस्त हुनुका साथै तातोपानी क्षेत्र नजिकैको गुइँठेबाट झरेको कालो माटोका कारण केही दिन बाटो अवरुद्ध भए पनि पछिल्ला दिन उक्त बाटो खुलेका कारण पर्यटकलाई आवतजावत गर्न सहज भएको छ ।

चैतदेखि जेठसम्म भीड लाग्ने मुक्तिनाथमा वर्षामा धार्मिक पर्यटक कम हुने गरेका छन् । दसैँअघिको सोह्रश्राद्धका समयमा पितृ उद्धारका लागि आउने धार्मिक पर्यटकको अत्यधिक चाप लाग्ने गरेको पुजारी सुवेदीले बताउनुभयो ।

पोखराबाट म्याग्दीको सदरमुकाम बेनी, जोमसोम हुँदै मुक्तिनाथ सडक यात्राबाट जान सकिन्छ भने पोखरा–जोमसोम हवाई उडानले पनि यहाँ पुग्न निकै सहज भएको छ ।

पछिल्ला वर्षमा सडक यातायातको सहजताका कारण मुक्तिनाथ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको होटल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button