
न्युयोर्क –
अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाल भ्रमणको इच्छा व्यक्त गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७१ औँ महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका नेपाली प्रतिनिधिमण्डलका नेता एवम् परराष्ट्रमन्त्री डा प्रकाशरण महतसँग मंगलबार भएको भेटवार्तामा अमेरिकी विदेशमन्त्री केरीले सो इच्छा व्यक्त गर्नुभएको हो ।
“म अघिल्लो पटक भारत भ्रमण गर्दा नेपाल जान चाहेको थिएँ, त्यतिखेर व्यस्तताले गर्दा मिलेन, अब कुनै उपयुक्त समयमा म नेपालको भ्रमण गर्नेछु, नेपालको विकास र समृद्धिमा अमेरिका सधैँ सहयोग गर्न तयार छ”–विदेशीमन्त्री केरीले भन्नुभयो ।
अमेरिकी विदेशमन्त्री केरीले नेपालका पर्यटकीय गन्तव्यमध्ये कुनै एक गन्तव्यको पदयात्रा गर्ने इच्छासमेत व्यक्त गर्नुभएको परराष्ट्रमन्त्री डा महतले राससलाई जानकारी दिनुभयो । नेपालको संविधान निर्माणपछिको अवस्थाबारे चासो राख्दै केरीले नेपालका राजनीतिक दल मिलेर लोकतन्त्रलाई संस्थागत गरुन् भन्ने सदीक्षासमेत राख्नुभएको थियो । रासस





