गैससको नाराअनुसार काम भएन – प्रधानमन्त्री

काठमाडौँ –

प्रधानमन्त्री पुष्पकमल दाहालले गैरसरकारी संस्थाले पछाडि पारिएका वर्गको उत्थान गर्ने नारा बोक्ने गरे पनि यथार्थमा त्यस्तो नपाइने गरेको बताउनुभएको छ ।

समाज कल्याण परिषद्ले आज यहाँ आयोजना गरेको ३७औँ सामाजिक सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– नारामा पछि परेका वर्गको उत्थान तर भूमिगत रणनीति अर्कै हुन्छ भन्ने चर्चालाई गलत सावित गर्नुस् ।

प्रधानमन्त्री दाहालले सामाजिक सेवा नै मूल उद्देश्य र मध्यम वर्गलाई रोजगारी दिने सहायक उद्देश्य हुनुपर्ने बताउनुभयो । उहाँले गैरसरकारी संस्थाको व्यापक वृद्धि साँच्चै सामाजिक सेवाका निम्ति भएको छ कि अरु कुनै अभिष्ट छ भन्ने प्रश्न उठ्ने गरेको बताउनुभयो।

प्रधानमन्त्री दाहालले गैरसरकारी संस्था विरलै मात्र ग्रामीण क्षेत्रमा जान्छन्, धेरै सहरमै काम गर्छन् भन्ने छ, त्यसलाई परिवर्तन गर्नुपर्छ भन्नुभयो । उहाँले सामाजिक क्षेत्रको कार्यक्रम लक्षित वर्गमा केन्द्रित गरेर परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले मुलुक सङ्घीय संरचनामा गएकाले सोहीअनुसार सामाज कल्याण परिषद्ले पनि आफ्ना कामलाई विकेन्द्रीकरण गरेर अगाडि बढ्नका लागि निर्देशन दिनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल, समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बराललगायतले समाज कल्याण परिषद्को प्रगति र भूमिकालाई प्रभावकारी बनाउन सरकारले थप अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा परिषद्मा निरन्तर २५ वर्ष सेवा गरेका राष्ट्रसेवक कर्मचारीलाई सम्मान गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button