रुस–नेपाल सम्बन्धबाट दक्षिण एसियाको स्थायित्व र सुरक्षामा योगदान

काठमाडौँ –

रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र नेपालबीचको सम्बन्ध दुवै मुलुकका जनताका निम्ति अझ सुदृढ, सुमधुर एवम् फलदायी हुने विश्वास व्यक्त गर्दै त्यसले दक्षिण एसियाको स्थायित्व र सुरक्षामा योगदान गर्ने बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाउनुभएको सन्देशमा राष्ट्रपति पुटिनले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहाललाई पठाउनुभएको सन्देशमा उहाँले ऊर्जा, धातु उद्योग, भौतिक पूर्वाधार र नागरिक उड्डयन क्षेत्रमा सहयोग प्रवद्र्धन गर्न सक्ने प्रशस्त सम्भावना रहेको बताउनुभएको छ । संस्कृति, शिक्षा र पर्यटन क्षेत्रमा आपसी सहकार्यको घनीभूत परम्परा दुई मुलुकबीच रहेको बताउँदै रुसी राष्ट्रपतिले सभामुख ओनसरी घर्ती नेतृत्वको नेपालको संसदीय प्रतिनिधिमण्डललाई आगामी महिना मस्कोमा स्वागत गर्न रुसी जनता व्यग्र प्रतीक्षा गरिरहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

नेपाल र रुसी महासङ्घबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सवका अवसरमा नेपालका लागि रुसी महासङ्घका राजदूत आन्द्रेइ बुधनिकले आयोजना गर्नुभएको विशेष समारोहमा राष्ट्रपति पुटिनको उक्त सन्देश राजदूत बुधनिकले वाचन गरेर सुनाउनुभएको थियो ।

उहाँले आगामी वर्षको प्रारम्भमा मस्कोमा नेपाली सांस्कृतिक कार्यक्रम आयोजना हुने जानकारी पनि दिनुभयो । उहाँले आतङ्कवाद, जलवायु परिवर्तनजस्ता क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा रुस र नेपालले सहकार्य गर्दै आएको बताउनुभयो ।
कूटनीतिक सम्बन्धको साठीऔँ वार्षिकोत्सव

उपराष्ट्रपति नन्दबहादुर पुन नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित विशेष समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि रुसी महासङ्घका राजदूत बुधनिकले आयोजना गरेको उक्त समारोहमा प्रधान्यायाधीश, सभामुख र उपप्रधानमन्त्री एवं गृहमन्त्रीको उपस्थिति थियो । समारोहमा संवैधानिक अङ्गका प्रमुख, पूर्वमन्त्री, राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, समाजसेवी तथा सञ्चारकर्मीको उपस्थिति थियो । त्यस अवसरमा रुसी महासङ्घका कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button