पोखरा –
निरज थापाले पोखरामा सम्पन्न तेश्रो नेप्लिज इन्काउण्टर कप पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता अन्र्तगत मेन्स सिंगल्सतर्फको उपाधी जितेका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा बिनोद कायस्थलाई ६–२, ६–३ को सिधा सेटमा पराजित गर्दै थापाले सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।
डबल्सतर्फको उपाधी दोर्जे लामा र अनिल तुलाचनको जोडिले जित्यो । प्रतिस्पर्धात्मक फाइनल खेलमा राजन पौडेल र लोक गुरुङ्गमाथि ६–३, ४–६ र सुपरटाईमा १०–७ को नतिजा निकाल्दै लामा र तुलाचनको जोडिले सो उपाधी रक्षा गरेको हो । जितसंगै सिंगल्सतर्फको बिजेता थापाले नगद नगद १५ हजार, ट्रफि तथा दोश्रो भएका कायस्थले नगद ८ हजार, ट्रफि पुरस्कार प्राप्त गरे । त्यस्तै डबल्सतर्फ विजेताले नगद १० हजार ट्रफि र दोश्रो हुने टिमले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि एशोसियसन अफ नेप्लिज आल्मुनाई फोरम, अस्ट्रेलियाका अध्यक्ष प्राध्यापक डा.दामोदर प्रसाद पोख्रेल, विशेष अतिथि नेप्लिज इन्काउण्टरका प्रबन्ध निर्देशक नारायण पहारी, शसस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहिनीपति डिआइजी नरेन्द्रकुमार सिंह, एशोसियसन अफ नेप्लिज आल्मुनाई फोरम, अस्ट्रेलियाका सचिव ऋषिराम त्रिपाठी, विदेशी टेनिस खेलाडी माइकल नोरिस लगाएतले पुरस्कार वितरण गरेका थिए । कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थको अध्यक्षतामा भएको समापन कार्यक्रम संघका सदस्य नविन चालिसेले सञ्चालन गरेका थिए ।





