काठमाडौँ –
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीको महान् चाड बडा दसैँ घटस्थापना गरी आजबाट सुरु भएको छ ।
घटस्थापनाका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ८ बजेर ३५ मिनेटको साइत निकालेको थियो ।
बडा दसैँ पर्व आजदेखि आश्विन शुक्ल पूर्णिमा अर्थात् असोज २९ गते कोजाग्रत पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । आजैदेखि दसैँघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आराधना गरी पूजा सुरु भएको छ ।
आज बिहानै नित्य कर्म सकी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लितपोत गरिएको पूजा कोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि जौ ९यव० रोपेपछि दसैँ सुरु हुन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज जौ रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्ने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
दुर्गा देवीका तीन रुपहरु महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा पनि आजबाट सुरु भयो । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवम् महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजा आजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।
दुर्गा पक्षको पहिलो दिन आज शैलपुत्री देवीको विशेष पूजा गरिएको छ । नौ दिनसम्म नौवटी देवीको पूजा गर्ने विधि छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिहरुको पाठ गरिने क्रम पनि आजबाटै सुरु भएको छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठहरुमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको घुइँचो सुरु भएको छ ।
आज बिहान समितिले दिएको साइतमा हनुमानढोका दरबारको दसैँ घरमा वैदिक विधिपूर्वक घटस्थापना गरी यव रोपण गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख सरस्वती सिंहले राससलाई जानकारी दिनुभयो ।
“हनुमानढोकामा राज्यका तर्फबाट घटस्थापना गरी जमरा राखिएको छ, यहाँ राखिएको जमरा विजयादशमीका दिन राष्ट्रपतिकहाँ लगिन्छ, यहाँको जमरा लैजान चाहने विशिष्ट श्रेणीका कर्मचारीकहाँ पनि दिइन्छ, लैजान चाहने सर्वसाधारणका लागि विजयादशमीका दिन दरबारको ढोकामा जमरा राखिन्छ” – उहाँले भन्नुभयो ।
हनुमानढोकामा आजैदेखि नवरात्रभर विधिपूर्वक राज्यका तर्फबाट दुर्गा देवीको आह्वान गरी पूजा गर्ने परम्परा छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution