सर्पदंशको औषधि नेपालमै सम्भव, तर कानुन बाधक

काठमाडौँ –

समयमै औषधोपचार नपाउँदा नेपालमा बर्सेनि सयौँ मानिसले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन् । यस्तो समस्या विशेषगरी तराईका जिल्लामा बढी देखिने गरेको छ । तर, अब सर्पदंशको औषधि नेपालमै सम्भव देखिएको छ ।

नेपालमै सर्पदंशको औषधि उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन गरिरहनुभएका सर्पविद् लक्ष्मीप्रसाद फुयाँलले बताउनुभयो । ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ कम्पनी’ स्थापना गरेर फुयाँलले सर्पको टोकाइबाट बच्ने औषधि नेपालमा सजिलै उत्पादन गर्न सकिने बताउनुभयो ।

सरकारले भारतबाट ठूलो धनराशि खर्चेर सर्पको औषधि खरिद गरेर ल्याउने गरेको भए पनि नेपालमा सर्पदंशको औषधिको हाहाकार हुने नै गर्दछ । कम्पनीले आज यहाँ पत्रकार सम्मेलन गरी सर्पदंशको औषधि नेपालमा उत्पादन गर्न सकिने बारे जानकारी गराएको हो । कम्पनीका अध्यक्षसमेत रहेका फुँयालले केही प्राविधिक र विज्ञ सम्मिलित गराएर सर्पदंशको औषधि नेपालमै उत्पादन गर्न सकिने अध्ययन गरिएको बताउनुभयो ।

यसका लागि रु ८८ करोड ६३ लाखको लगानीमा कम्पनी स्थापना गरी औषधि उत्पादनका लागि एउटा विज्ञको समूह बनाएर काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । सर्पदंशको औषधि उत्पादन गर्न कच्चा पदार्थका रुपमा सर्पकै विष चाहिने भएकाले सर्प पाल्न सरकारसँग अनुमति मागिरहेको उहाँको भनाइ थियो । अध्यक्ष फुयाँलले भन्नुभयो–“नेपालमा सर्प पाल्नेबारे कानुन छैन । हामीले पटकपटक सरकारी निकायमा ताकेता गरयौँ, तर जिम्मेवार व्यक्तिले वास्ता गरेका छैनन् ।”

सर्पदंशको औषधि उत्पादन गर्न सबैभन्दा पहिले सर्पपालन तथा अनुसन्धान गर्न पाऊँ भनी दुई वर्षअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागसहित सरोकारभएका मन्त्रालयमा निवेदन दिएको उहाँले बताउनुभयो ।

“नेपालमा वार्षिक ५० हजार भायल सर्पदंशको औषधिको माग छ । भारतबाट वार्षिक ३० हजार भायल औषधि किन्न नेपाल सरकारले रु चार करोड खर्च गर्नु परिरहेको छ, तैपनि पुग्दैन”–अध्यक्ष फुयाँलले भन्नुभयो ।

आफूहरुले वार्षिक १५ लाख भायल सर्पदंशको औषधि उत्पादन गर्ने लक्ष्यका यस किसिमको कम्पनी खोलेको उहाँले जानकारी दिनुभयो ।

कसरी बन्छ सर्पदंशको औषधि ?

सर्पदंशको औषधि उत्पादन गर्न सबैभन्दा पहिले सर्पको विष इन्जेक्सनमार्फत घोडामा पठाएपछि घोडाबाट निस्कने रगतबाट नै औषधि बनाउन सकिने सर्प विशेषज्ञ एवम् प्राविधिक प्रेम विष्टले बताउनुभयो । उहाँका अनुसार सर्पले टोक्ने बित्तिकै मान्छे मर्दैन । मान्छेको मृत्यु हुने कारण नै आत्तिएर हो ।

औषधि बनाउन सर्पको विष र घोडाको रगत अनिवार्य चाहिने विष्टको भनाइ छ ।  यदि सरकारले कानुन बनाएर सर्प पाल्न अनुमति दिए नेपालमा कोही पनि सर्पको टोकाइबाट मर्न नपर्ने विष्ट बताउनुहुन्छ ।

नेपालमा प्रयोग भइरहेको सर्पदंशको औषधि पोलिभेनम हो भने विकसित राष्ट्रहरुले मोनोभेनम औषधि प्रयोग गर्छन् । फुयाँलले आफूहरुले पोलिभेनम र मोनोभेनम दुवै प्रकारका औषधि बनाउन चाहेको बताउनुभयो । नेपालमा कति प्रजातिका कति सर्प छन् भन्ने यकिन विवरण छैन, जानकारका अनुसार तराईका महोत्तरीको बर्दिवास क्षेत्रमा धेरै सर्प पाइन्छ ।

विषालु सर्प गोमन र किङ कोब्रा मोरङको लेटाङ, टाँडी र दक्षिणी भेगमा पाइन्छ । संसारकै विषालु सर्पको रुपमा किङ कोब्रालाई लिइन्छ, यो लामो र ठूलो पनि हुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button