डा केसीलाई अनशन अन्त्य गर्न आग्रह

काठमाडौँ –

अनशनरत डा गोविन्द केसीले उठान गरेका अधिकांश माग पूरा हुने प्रक्रियामा रहेको भन्दै स्वास्थ्य मन्त्रालयले उहाँलाई अनशन फिर्ता लिन पुनः आग्रह गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

समग्र चिकित्सा शिक्षा सुधारको माग पुनः उठान गरी डा केसीले नवौँ अनशन सुरु गर्नुभएको आजबाट १० औ दिन भएको छ ।

“म डा केसीले उठान गर्नुभएका माग सरकारले पूरा गर्नुपर्छ भन्ने व्यक्ति हुँ, यसअघिका अनशनमा मैले उहाँलाई साथ र सहयोग दिएको हुँ, अहिले त्यही माग पूरा गर्नेमध्ये एक जिम्मेवारीमा छु, सबै माग सम्बोधनका क्रमा छन्” – स्वास्थ्यमन्त्री गगन थापाले आज भन्नुभयो ।

स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले “डा केसीले अनसन बस्नु पर्ने दिन आउने छैन” भनेर मन्त्री पदको शपथ लिएकै दिन आफूले बोलेको स्मरण गर्दै डा केसीको पछिल्लो मागमा चिकित्सा शिक्षा ऐन तयार भई संसद्मा पेस भएको जानकारी दिनुभयो ।

“म पुन डा केसीलाई आग्रह गर्छु तपाईंका माग पूरा गर्छु, अनशन फिर्ता लिइदिनुस्” – मन्त्री थापाले भन्नुभयो । तर डा केसीको पटक पटकको अनशनले गर्दा स्वास्थ्य स्थिति जटिल बन्दै गएको उहाँको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । डा केसीका उपचारमा संलग्न डा दिव्या सिंहले डा केसीको मुटु, पिसाब र रगतमा समस्या देखिन थालेको बताउनुभयो ।

मन्त्री थापाले आफूले मन्त्रालय सम्हालेपछि ४० दिनको अवधिमा गरेका कामका बारेमा जानकारी दिँदै चिकित्सा शिक्षा सुधारका लागि विभिन्न नीतिगत सुधार थालिएको उल्लेख गर्नुभयो ।

सो क्रममा मेडिकल काउन्सिलको बैठक तुरुन्त डाक्न निर्देशन दिएको र सङ्घीयता अनुरुप स्वास्थ्य सेवालाई रुपान्तरण गर्न उच्चस्तरीय कार्यदल गठन गरेको मन्त्री थापाले बताउनुभयो ।

उहाँले औषधिको आपूर्ति र नियमितता, औषधिको गुणस्तर, अस्पताल आफैँबाट औषधि पसलको सञ्चालन, मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखसँग कार्य मूल्याङ्कन सम्झौता, दरबन्दी खाली रहेका स्थानमा करारमा चिकित्सक तथा स्वास्थ्यकर्मीको नियुक्ति जस्ता कार्य भएको जानकारी पनि दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button