७ हजार लायन सहभागी कुम्भमेला समापन

पोखरा –
पोखरामा दुई दिन सम्म चलेको लायन्सको कुम्भमेला समापन भएको छ ।  शनिबार पोखरा लायन्स फेस्टिबल एवं मल्टिपल फेलोशिप कार्यक्रम तथा शुक्रबार चारवटै डिष्ट्रिक्टहरुको क्याबिनेट मिटिङ भएको थियो ।

शनिबार भएको लायन्सको मल्टिपल फेलोशिप कार्यक्रमलाई लायन्सको कुम्भ मेलाका रूपमा लायनहरुले लिएका हुन् । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा चलेको लायन्स फेस्टिबल अघि शनिबार विहान लायन्स सेण्टेनियल परेड भएको थियो । सिद्धार्थचोकबाट चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार हुँदै प्रदर्शनी केन्द्रमा पुगेर परेड समापन भएको थियो । लायन्स अन्तरराष्ट्रियमा प्रतिनिधित्व गरेका अन्तरराष्ट्रिय डाइरेक्टर सञ्जय खेतानलगायत लायन्स हेडक्वाटरका ४ जना उच्चपदस्थ व्यक्ति परेडमा सहभागी भए । परेडमा विभिन्न क्लबबाट ब्यानर सहित सहभागिता थियो भने पञ्चेबाजा, झाँकी समेत प्रदर्शन गरिएको थियो ।

मेलामै रक्तदान कार्यक्रम समेत राखिएको थियो । विद्यार्थी रोशन अधिकारीले रक्तदान गरेर कार्यक्रम शुभारम्भ भएको थियो । मेलाको आकर्षणमा महिला कबड्डी क्वीज कण्टेष्ट, भलिबल तथा फूटबल प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, युगल नृत्य प्रतियोगिता, म्युजिकल चियर, अन्तर लायन्स डिष्ट्रिक्ट दोहोरी प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, मौलिक खानाका परिकारलगायत थिए ।

‘पोखरा डेष्टिनेशन अफ प्लेजर’ नाराका साथ सुन्दर नगरीमा आयोजना गरिएको कार्यक्रमले पोखरामा आन्तरिक पर्यटकलाई बढावा दिएको उनीहरुले दाबी गरेका छन् ।

चारओटै डिष्ट्रिक्टका लिडर तथा सदस्यलाई एउटै थलोमा जम्मा गराई आत्मीयता तथा भाइचारा अभिवृद्धि गराउने उद्देश्यले पोखरामा पहिलोपटक आयोजित कार्यक्रम लायन्स डिष्ट्रिक्ट ३२५ बी वानले आयोजना गरेको हो । यस प्रकारको कार्यक्रम अघिल्लो वर्ष चितवनको सौराहामा डिष्ट्रिक्ट ३२५ बी टुले आयोजना गरेको थियो ।

नेपालमा रहेका लायन्सका चार ओटा डिष्ट्रिक्टबाट ७ हजार लायन सदस्य कार्यक्रम सकेर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button