छोराछोरी स्कुल पठाएर गृहिणी कम्प्युटर सिक्दै

पोखरा-

छोराछोरी स्कुल पठाएर गृहिणी कम्प्युटर सिक्दै

खानी गाउँकी प्रमिला परियारलाई विदेशमा रहेका श्रीमान्सँग फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालबाट कुराकानी गर्ने ठूलो धोको थियो । सो सम्बन्धी ज्ञान नभएकाले अहिलेसम्म उनी महँगो शुल्क तिरेर भए पनि टेलिफोनमा नै कुरा गर्दै आएका थिए । तर अब भने उनको त्यो धोको पुरा हुने भएको छ । हिजोआज परियारले छोराछोरीलाई विधालय पठाएपछि आफू कम्प्युटर सिक्न स्थानीय मोती पुस्तकालयमा पुग्न थाल्नुभएको छ । उमेरले ३५ पुगेकी परियारले विदेशमा रहेका श्रीमान्सँंग कुराकानी गर्नका लागि सहज हुने देखेर छोराछोरीलाई विधालय पठाएपछि आफू कम्प्युटर सिक्न थाल्नुभएको हो ।

उहाँ मात्र होइन, पर्वतको फलेबास क्षेत्रका गृहिणी महिला यतिबेला कम्प्युटर सिक्न मोतीपुस्तकालयमा पुग्ने गरेका छन् । फलेवासस्थित खानीगाउँमा रहेको मेती सामुदायिक पुस्तकालयले विवाहित गृहिणी महिलालाई निःशुल्क कम्प्युटर शिक्षा सिकाउन थालेपछि घरधन्दा सकेर उनीहरु कम्प्युटर सिक्न थालेका छन् । आफू पनि कम्प्युटर चलाउने र छोराछोरीलाई समेत सिकाउने उद्देश्यले कम्प्युटर सिक्न आएको सम्झना परियार बताउँछन् । कम्प्युटर सिकेपछि विदेशमा भएका श्रीमान्सँग इमेल इन्टरनेटका माध्यमबाट कुराकानी गर्न सजिलो हुने विश्वास पनि उहाँको छ ।

“विदेशमा भएका श्रीमान्सँग कुरा गर्न सहज होला भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो – “भविश्यमा छोराछोरीलाई पनि सिकाउन सक्छु जस्तो लागेको छ ।” ग्रामीण क्षेत्रका महिलालाई आधुनिक शिक्षा र प्रविधिसँग परिचित गराई सीप र प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले पुस्तकालयले निःशुल्क कम्प्युटर शिक्षा सुरु गरेका छन् । विकट दुर्गम गाउँका विवाहित गृहिणी महिलालाई कम्प्युटरसम्बन्धी ज्ञान दिन तथा कम्प्युटर शिक्षा पाउनबाट वञ्चित रहेका गृहिणी महिलालाई लक्षित गरी उक्त कार्यक्रम ल्याएको पुस्तकालय व्यवस्थापन समितिले जनाएको छ ।

आधुनिक प्रविधिको उपयोग गर्नमा गृहिणी महिला निकै पछाडि परेका छन्, पुस्तकालयका संरक्षक भोलानाथ शर्माले भन्नुभयो –राज्यका विभिन्न निकायमा महिला सहभागिता बढाउन तथा उनीहरुको क्षमता विकास गर्न कम्प्युटर शिक्षा अनिवार्य भएकाले निःशुल्क कम्प्युटर शिक्षा सिकाउने निर्णय गरेका छौं । विभिन्न ठाउँमा सामुदायिक सिकाइ केन्द्र अलपत्र परेको अवस्थामा पुस्तकालयले गरेको उक्त कार्यले महिलाको सिकाइ उपलब्धिमा समेत वृद्धि हुने देखिएको छ ।

गृहिणी महिलालाई बिहान ११ देखि ३ बजेसम्मको समय मिलाएको लाइर्बेरियन इन्द्र सापकोटाले जानकारी दिनुभयो । कम्प्युटर सिक्नका लागि फलेवास आसपासका ५० भन्दा बढी महिला सहभागी हुने गरेका छन् । पुस्तकालयले ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, असहाय, सीमान्तकृत, दलित, जनजातिलगायतलाई जन्मदर्ता, बसाइँ सराइ, प्रमाणपत्र, जग्गाधनी पुर्जा, भौचर, पेन्सनपट्टाको फोटोकपी, इमेल इन्टरनेट, स्क्यानिङलगायतका सेवासमेत निःशुल्क उपलब्ध गराउने भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button