पोखरा-
‘युनिभर्सल सबलाइम एकेडेमी’ र युएस साहित्य क्लब बाग्लुङद्वारा भाषा, साहित्यको विकास र प्रवद्र्धनमा योगदान पु¥याएबापत साहित्यकार काजी रोशन बिहीबार सम्मानित हुनुभएको छ । यहाँ आयोजित कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष तारानाथ शर्मा र प्रअ दल थापा तथा साहित्य क्लबका अध्यक्ष अनिष न्युरेले रोशनलाई संयुक्त रुपमा अबिर, दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष शर्माले विद्यार्थीमा सिर्जनशीलता विकास गर्न कार्यक्रमले सहयोग पु¥याएको बताउनुभयो । सम्मान ग्रहणपछि रोशनले साहित्यको हित र उत्थानमा लाग्न सम्मानले प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका रोशनकै पहलमा विद्यालयमा साहित्य क्लब गठन भएको थियो ।
एक साताअघि गठित क्लबले पहिलो कार्यक्रमका रुपमा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता आयोजना गरेको हो । बिहीबार नै १८ विद्यार्थी सहभागी कविता प्रतियोगितामा आधारभूत तहतर्फ समीक्षा भुसाल प्रथम, सौरभ सापकोटा द्वितीय र तृतीय प्रवीण शर्मा तथा माध्यमिकतर्फ प्रभा केसी, अनिश न्युरे द्वितीय र सागर खत्री तृतीय हुनुभएको थियो । विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । रासस





