पोखरा-
गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले प्रशासनले संयमता अपनाउँदा अपनाउँदै पनि प्रहरी र आन्दोलनकर्ताबीच झडप हुनु दुखद् भएको बताउनुभएको छ । शुक्रबार भएको झडपपछि प्रजिअ ढुङ्गानाले आज सर्वपक्षीय बैठक बोलाइ आउँदा दिनमा दुवै पक्ष संयमित हुनुपर्ने बताउनुभयो । बैठकमा सांसद कमला विश्वकर्मासहित जिल्लास्थित संयुक्त सङ्घर्ष समिति, विभिन्न राजनितिक दलका प्रमुख र नागरिक समाजलगायतका प्रतिनिधिले शुक्रवारको घटनामा प्रहरी दमन भएको भन्दै प्रजिअ ढुङ्गानाले माफी माग्नुपर्ने माग राखेका थिए ।
बैठकमा झडपमा परेर घाइते भएकाको औषधि खर्च प्रशासनले बेहोर्नेलगायत सहमति भएको छ । पाँच नम्बर प्रदेशको सीमाङ्कन हेरफेरको विरोधमा गुल्मीमा जारी आन्दोलनको १८औँ आज पनि दिनभर जिल्ला पूर्णरुपमा बन्द रह्यो । बन्दका कारण बजार, यातायात, सरकारी कार्यालय, शिक्षण संस्था ठप्प रहेका थिए । रासस





