पोखरा लोडसेडिङ मुक्त भएको कुलमानको घोषणा

पोखरा –

काठमाडौंलाई लोडसेडिङमुक्त बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरा पनि लोडसेडिङ नगर्ने घोषणा गरेका छन् ।

१५ दिनदेखि पोखरामा लोडसेडिङ नभएको जानकारी दिँदै उनले पोखरा अब लोडसेडिङ मुक्त भएको बताए । पूर्वका धेरैजसो भाग लोडसेडिङ गर्न छाडिएको भन्दै उनले अब छिट्टै पूर्वाञ्चल पनि लोडसेडिङ मुक्त बनाउने योजना रहेको बताए ।

उद्योग बाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा घिसिङले भने ‘बुटवलदेखि पश्चिमका भागमा डेढ घन्टाको हाराहारीमा लोडसेडिङ छ, पूर्वका धेरै भाग लोडसेडिङ मुक्त भएका छन् ।’

काठमाडौंलाई तिहारको लक्ष्मीपूजाबाट मात्रै लोडसेडिङ मुक्त बनाएका छन् । र, अब तालिका नल्याउने उनको बाचा छ ।

विद्युत प्राधिकरणका प्रमुख घिसिङले भारतबाट चर्काे मूल्यमा बिजुली आयात पनि नगरिएको जानकारी दिए । खपत हुने उच्च समयमा प्रतियुनिट ५ रुपैयाँ ७५ पैसामा बिजुली आयात गर्ने गरिएको भन्दै उनले भने, ‘आयातले मात्रै लोडसेडिङ अन्त्य गरेको होइन, महंगोमा आयात गर्‍यो भन्ने आरोपमा पनि सत्यता छैन ।’

कार्यक्रममा उर्जा मन्त्री जनार्दन शर्माले केही व्यक्तिहरुको सिमित स्वार्थका कारण बिगतमा लोडसेडिङ हुने गरेको बताए । उनले भने ‘लोडसेडिङ तालिका भित्र कोही थियो तर, अब यसमा धेरै नखोतलौं, आफैं बाहिर आउँदै जान्छ ।’

उनले इन्भर्टर तथा ब्याट्री व्यवसायीलाई उद्योग खोल्न सुझाव दिए । उनले भने ‘ब्याट्री र इन्भर्टर व्यवसायीलाई मेरो सुझाव छ, अब यसको ब्यापार छाड्नुहोस्, अन्य उद्योग खोल्नुस् । म मागे जत बिद्युत दिन तयार छु ।’

उर्जामन्त्री शर्माले उद्योगीहरुले मागेजछि बिद्युत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएका छन् ।

स्रोत – अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button